इलाम । पारिवारिक निजी वन संघ इलाम शाखाले वन विधयक २०७५ मा आफ्नो सुझाव पेश गरेको छ । डिभजिन वन कार्यालय इलाम मार्फत पारिबारिक निजी वन संघ इलाम शाखाले सोमबार सुझाव पत्र पेश गरेको हो ।
संघीय सरकारका वन तथा वातावरण मन्त्रीलाई डिभिजन वन कार्यालय इलाम मार्फत सुझाव पेश गरिएको हो । मसिर एक गते सुझाव पेशका लागि नेपाल वन विधयक २०७५ अध्ययन गरि सुझाव पेश गरेको पारिवारिक निजी वन संघ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताउनुभयो ।
संघले निजी वनको प्रस्तावनामा वन क्षेत्रबाट समृद्ध हासिल गर्नुपर्ने बिषय समेट्नुपर्ने, परिभाषामा व्यक्तिको हक पुग्ने निजी जग्गामा प्राकृतिक रुपमा वा वृक्षरोपण गरि संरक्षण तथा सदुपयोग गरेको वनलाई निजी वन मानिनुपर्ने, निजी वनमा हुर्काइएका रुखहरुको ओसारपसार, उपयोग र विक्रि वितरणमा प्रतिबन्ध लगाउन नपाउने सुझाव पेश गरेको छ ।
यस्तै स्थानीय तहमा दर्ता गरि प्रमाणित गरेपछि कुनै कारोबार गर्न प्रतिबन्ध लगाउन नपाउने, निजी वनको जग्गाको मालपोत १० वर्षसम्म छुट गर्नुपर्ने र वनक्षेत्रका रुखहरुको बिमा गर्न पाउने व्यवस्था मिलाउनुपर्ने सुझावहरु पेश गरको हो । पारिवारिक निजी वन संघ इलाम शाखाले आफ्नो सुझाव पत्र प्रदेश नम्बर एकको उद्योग पर्यटक वन तथा वातावरण मन्त्रालयलाई समेत पठाएको छ ।