इलाम । जनताका घरमा विद्युत बाल्न प्रयोग गरिएका पोल नै इलाममा विद्युतिय धराप भएका छन् । छिटो विद्युत बाल्ने अभियानमा काठका पोल प्रयोग गरिएका कारण विद्युत प्रशारण लाइनका पोल नै धराप भएका हुन् ।
हजारौँ काठका विद्युतिय पोल मक्किएर र भाच्चिएपनि फेर्ने बजेट पर्याप्त नहुँदा धरापको रुपमा रहेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले बताए । विद्युत प्राधिकरणको अध्ययन अनुसार इलाममा ९ हजार काठका विद्युतिय पोल अत्याधिक जिर्ण अवस्थामा रहेका छन् ।
४० हजार घरपरिवारले विद्युतिय सेवा लिँदै आएको इलाममा विद्युत प्रशारण लाइन विस्तार गर्दा काठका पोलहरु प्रयोग गरिएका कारण अहिले धरापका रुपमा रहेको प्राधिकरण प्रमुख घिमिरेले बताए । ‘काठका विद्युतिय पोलहरु हजारौँ प्रयोग भएका छन् लाेकल सन्देशसँग कुरा गर्दै उनले भने–‘३० हजार बढी काठका विद्युतिय पोलमध्ये ९ हजार विद्युतका पोल अत्याधिक धरापका रुपमा रहेकाले फेर्नका लागि केन्द्रिय कार्यालयमा पठाएका छौँ ।’
पोल फेर्नका लागि खरिद गर्ने अख्तियारी नभएको र बजेटको शिर्षक पनि नभएकाले केन्द्रिय कार्यालयबाट पठाएका स्टिल पोल प्रयोग गरि बढी खतरा भएका स्थानमा फर्ने काम भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । इलामका १० वटै स्थानीय तहमा हजारौँ काठका पोलहरु प्रयोग गरिएको र अहिले दिनहँजसो पोल फर्ने माग भएपनि पर्याप्त रुपमा फर्ने नसकिएको घिमिरेले बताए । प्राधिकरणले अहिले राजमार्ग, व्यापारीक केन्द्र र बाक्लो बस्ति भएको स्थानका धरापको रुपमा रहेका काठका विद्युतिय पोल फेर्ने काम गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरण इलाम शाखाले आर्थिक वर्ष २०७४०७५ मा ९ सय धारापको रुपमा रहेका विद्युतिय पोल फेरेको छ । सबै क्षेत्रमा काठका पोलहरु धरापको रुपमा रहेकाले प्राथकिताका आधारमा पोल फेर्ने काम भइरहेको प्राधिकरणको भनाइ छ । चालु आर्थिक वर्षको ५ महिनामा ११ सय ५० वटा काठका पोलहरु रहेको स्थानमा स्टिल पोल राखिएको छ । प्राधिकरणका अनुसार मेची राजमार्गको क्षेत्रमा धरापको रुपमा रहेका काठका पोल ९९ प्रतिशत फेरिएको र अब बजार क्षेत्र तथा अधिक बस्ति भएका क्षेत्रका धराप पोल फेर्ने कामलाई प्राथमिकता दिने घिमिरेले बताए । विद्युत प्राधिकरणसँगै तत्कालिन अवस्थामा स्थानीय निकाय, समुदाय र संसद विकास कोषबाट भएको विद्युत विस्तारमा काठकै पोललाई प्राथमिकता दिएकाले अहिले जता गएपनि खतरा मात्रै देखिने गरेको घिमिरेको भनाइ छ ।
काठका पोलहरु धरापका रुपमा मात्रै देखिएपछि प्राधिकरणले ३ वर्ष अघि इलाममा विद्युत विस्तार गर्दा स्टिल पोल मात्रै प्रयोग गर्ने निर्णय गरको थियो । यो निर्णय पछि नयाँ विस्तार गर्दा स्टिल पोल प्रयोग बढाइएपनि धरापका रुपमा रहेका पुराना काठका हजारौँ पोल फेर्न स्थानीय तहले पनि तदारुकता देखाउनुपर्ने प्राधिकरणको भनाइ छ । ‘चाँडो विद्युत बाल्ने चाहानाले गर्दा अहिले जताततै धराप मात्रै छन् घिमिरेले भने –‘हामीले स्थानीय तहहरुलाई विद्युतको नयाँ विस्तारमा मात्रै हैन पुराना पोल फेर्नेमा पनि बजेट विनियोजन गर्न अनुरोध गरेका छौँ । कम्तिमा पनि नयाँ विस्तारको योजना ल्याउँदा त्यस बजेटको २५ प्रतिशत पुराना पोल फेर्नमा छुट्टयाउन अनुरोध गरेको उनले बताए