सन्दकपुर । चोरी तस्करीले उजाड भएको नेपाल भारत सीमा क्षेत्रको वनलाई जोगाउन र खुल्ला फाटलाई हरियो बनाउने अभियान शुरु भएको छ । डेढसय मेगावाट बढी विद्युत उत्पादन हुँदै आएका इलामका खोलाको मुहान रहेको क्षेत्रमा उजाड बढ्दै जाँदा सन्दकपुर गाउँपालिकाले ‘ग्रिन’ गाउँपालिका बनाउने अभियान शुरु गरेको हो ।
इलामका चार खोला माई, पुवा, देउमाई जस्ता ठुला खोला र सयौँ साना खोला खोल्साको मुहानका साथै तीन दर्जन बढी सिमसार क्षेत्र रहेको सन्दकपुर गाउँपालिकाका उच्च हिमाली क्षेत्रको वन मासिएपछि पुनः हरियो बनाउने अभियान शुरु भएको हो । भारतीय क्षेत्रमा सिंहलिला नेसनल पार्क गठन गरि संरक्षणको काम गरेपछि नेपाली वनमा तिब्र चोरि तस्करी भएपछि त्यसलाई रोक्दै पुनः हरियो बनाउने काम शुरु भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो ।
लोपउन्मुख रेडपाण्डा, थार, ध्वासे चितुवा, सयौँ जडिबुटी र ३ सय ५० बढी प्रजाती चराहरु बस्ने जंगल बनाउने र हरियो सन्दकपुर गाउँपालिका बनाउने अभियान अन्तरगत बिरुवाको वृक्षारोपणको काम शुरु भएको हो । गाउँपालिकाले अहिले विभन्नि जातका एक हजार किलो रुख बिरुवाको बिऊ संकलन गरि वृक्षारोपणको काम शुरु भएको छ ।
उच्च हिमाली क्षेत्रमा बिदेश प्रजातीको बिरुवाहरु बढ्दै जाँदा बातावरणिय असरसँगै वन्यजन्तुको बासस्थानमा माँसिदै गएको गाउँपालिकाको ठहर छ । त्यसकारण सीमा क्षेत्रमा वन फडानी भएर उजाड हुँदा भु–क्षय बढेकाले ५ वर्षमा २० लाख बिरुवाको वृक्षारोपण गर्ने योजना बनाएको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । वन फडानीले सिमसार क्षेत्र पनि सुक्दै गएकाले स्थानीय जातका बान्टे, कटुस, बज्राठ, चाँप, लालिगुराँस, सिरिस, काउलो, धुपि, लौँठसल्ला लागायका बिरुवाको वृक्षारोपणका लागि नर्सरी राख्ने काम धमाधम भइरहेको छ । एक हजार किलो बिरुवाको बिऊको नर्सरी राख्ने काम अन्तिम चरणमा पुगेको र २ हजार किलो बिऊको अर्को नर्सरी चाँडै राख्ने काम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
१० वर्षमा पूर्णरुपमा हरियाली बनाएर अहिले उजाड भएका डाँडाहरुमा जंगल विस्तार गरि पर्यापर्यटनको प्रवद्र्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो । झापाको समेत उर्भर भुमिलाई सिचाई दिँने माई नदी लगायतका खोला र खोल्साको मुहान रहेको सन्दकपुर, छिन्टापु, गैरिबास, कालपोखरी, आलुबारी, जौबारी, बिखेभञ्ज्याङ्ग लगायतका भारतीय सीमा क्षेत्रको नेपाली वन मासिएकाले प्राथमिकताका साथ पुनः हरियाली बनाउने अध्यक्ष राईको भनाइ छ । सन्दकपुर गाउँपालिकामा रहेका २८ वटा सामुदायीक वन र अब गठन हुने ३ वटा सामुदायीक वनका उपभोक्तालाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरि वृक्षारोपण गर्ने योजना रहेको छ ।
वन संरक्षणका लागि चौरी गोठहरु पुर्णरुपमा हटाउने र उच्च हिमाली क्षेत्रमा रहेका भु–भागमा स्थानीय जातको धुपिको बिऊ पाँचथरको फालेलुङ्ग गाउँपालिकाबाट खरिद गरि रोपण गर्ने योजना रहेको गाउँपालिकाकी उपाध्यक्ष सोभा पराजुलीले बताउनुभयो । इलामको मात्रै नभएर झापाको पानीको श्रोत रहेको र अरबौँ रुपैयाँ खर्चेर बनाइएका दर्जन बढी विद्युत आयोजनाको प्राण रहेको सन्दकपुर क्षेत्रमा हरियो बनाएमा गाउँपालिकालाई मात्रै नभएर सिंगो देशलाई नै फाइदा पुग्ने भएकाले महत्वका साथ काम शुरु भएको उपाध्यक्ष पराजुलीले बताउनुभयो ।
‘ग्रिन’ गाउँपालिका बनाउने अभियानमा सन्दकपुर गाउँपालिका क्षेत्रका सबै सामुदायीक वनले चौँरी गोठ हटाउन थालेका छन् । खुल्ला जंगलमा चौँरी छोडेको भेटिएमा ५ हजार जरिमान र चौँरी मालिकले नलगेसम्म दैनिक ५ सय रुपैयाँ थप जरिमाना गर्दै आएका छन् । चौँरी गोठका कारण पनि जंगल मासिएकाले सामुदायीक वनले यस्तो निति बनाएको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नन्द राईले बताउनुभयो ।
इलाम र झापाबासीलाई पानीको श्रोत रहेको सन्दकपुर गाउँपालिकाले हिरियो गाउँपालिका अभियानमा आफुले सहयोग गर्ने प्रदेश सांसद खिनु लङ्वा लिम्बुले बताउनुभयो । सन्दकपुर गाउँपालिका आफ्नो निर्वाचन क्षेत्र पर्ने भएकाले उजाड डाँडालाई पुनः हरियालि बनाउने काममा आफ्नो निर्वाचन विकास कार्याक्रमबाट बजेट विनियोजन गरि प्रदेश सरकारबाट छुट्टै कार्याक्रम स्वीकृत गर्न पहल गर्ने सासंद लिम्बुले बताउनुभयो ।