इलाम । इलाममा पहिलो पटक ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको छ । नेपालमै पहिलो पटक माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा औपचारिक रुपमा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयन सुरु गरिएको हो ।
माङसेबुङमा आयोजित कार्यक्रममा प्रदेश १ का सांसद धिरेन्द्र शर्मा रमण, माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गो लगायत जनप्रतिनिधि, बद्धिजिवी, भाषिक र साँस्कृतिक अगुवा तथा वडाबासीलाई साक्षी राखी वडा अध्यक्ष नरेन्द्र राईले ‘ नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ ले प्रत्यायोजन अधिकारलाई प्रयोग गरी ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको घोषणा गरे ।
अंग्रेजी, किरात सिरीजंगा लिपी र देवनागरी लिपीमा लेखिएको त्रैभाषिक वडा कार्यालयको सूचना पाटी बाचन गरेर अध्यक्ष इधिङ्गोले उद्घाटन गरेका थिए । वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको वोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारामहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किरात सिरजिंगा लिपी प्रयोग हुनेछ ।
सो वडाको गत १५ कात्तिकमा बसेको बैठकले नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी र संघसंस्थाहरुको संयुक्त बैठकले सो निर्णय गरेर तयारी सुरु गरेको थियो । त्यस वडामा ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।
यस्तो छ संवैधानिक व्यवस्था
नेपालको संविधानको धारा ६ ले ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा’ का रुपमा सम्बोधन गरेको छ । धारा ७ ले ‘नेपाली भाषाका अतिरिक्त एकभन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउन सक्ने’ र धारा ३२ ले ‘प्रत्येक व्यक्ति समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने’ मौलिक हकको व्यवस्थालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । नेपालको संविधान अनुसूचि ८.१७ र स्थानीय सरकार सञ्चालन ऐन २०७४, दफा ११ फ मा ‘भाषा, सांस्कृति र ललितकलाको विकास र संरक्षण सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्यन, अनुगमन र नियमन’ गर्ने व्यवस्था उल्लेख छ ।