इलाम । सुरुवाती अग्रता जोगाउन नसक्दा ओलम्पिक महिला फुटबलका लागी एसियाली छनौटमा नेपालले बलियो प्रतिद्धन्द्धी घरेलु टिम म्यानमार विरुद्ध १–१ गोलको बराबरी खेलेको छ । याङगोनस्थित थुनुवा स्टेडियममा भएको खेलको दोश्रो मिनेटमा नेपालले अग्रता कायम गरेको थियो । म्यानमारको डिफेन्डर बाइबाइले डि–बक्समा फल गरेपछि पाएको पेनाल्टीमा स्ट्राइकर सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन । तर खेलको १४ औ मिनेटमा खिन मोइले खेल बराबरीमा ल्याइन । म्यानमारले पाएको कर्नरको सदुपयोग गर्दै मोइले खेल बराबरीमा ल्याएकी हुन ।
दोश्रो चरण पुग्ने आशा कायमै
बराबरीसंगै समूह सी को नेपालले दोस्रो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । नेपालले २ खेलबाट २ अंक जोडेको छ । यस समुहबाट दुई खेल खेलेको भारत र म्यानमारको समान ४÷४ अंक छ । म्यानमारसंग ५–० को फराकिलो हार व्यहोरेको बंगलादेश अंक बिहिन हुँदै पुछारमा छ । उस्ले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
आफनो अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशलाई पराजित गरेमा नेपालको दोस्रो चरणको यात्रा केहि सहज हुनेछ । तर, नेपालले अघिल्लो चरण प्रवेशका लागी भारत र म्यानमारबीचको खेलको निर्णय पर्खनुपर्ने हुन्छ । उक्त खेलमा हार जित भएमा र नेपालले बंगलादेशलाई हराएमा दोस्रो चरणको यात्रा तय हुनेछ । भारत र म्यानमारको खेल बराबरी भएमा गोल अन्तरले दोस्रो चरण पुग्ने दुई टोलीको तय हुनेछ ।
फिफा वरियतामा म्यानमार भन्दा नेपाल ६४ वरियता मुनी रहेको छ । नेपाल १०८ औ वरियतामा रहँदा म्यानमार ४४ औ वरियतामा रहेको छ । त्यसैगरी भारत ५९ औ र बंगलादेश वरियता क्रममा छैन ।
सन २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन ।