इलाम । इलाम नगरपालिकाले आउँदो कार्तिक २५ गते आयोजना गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले सम्मेलनका लागि तयारी नपुगेको कारण देखाउँदै तत्काललाई सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले चाडपर्व लगत्तै सम्मेलन आयोजना गर्नुभन्दा अलि दिन पछाडि सार्दा त्यसलाई भव्यता दिन सकिने भएकाले सम्मेलन स्थगित भएको बताए । उनले २५ गतेपछि करिब १५÷२० दिनभित्रै सम्मेलन आयोजना हुनसक्ने भएपनि अर्को निर्णय नहुँदासम्मलाई स्थगित भएको बताए ।
आन्तरिक पूँजी परिचालन, बाह्य लगानी आकर्षण र रोजगारी सिर्जना गर्ने उद्देश्यले इलाम नगरपालिकाले सदरमुकाममा आउँदो २५ गते लगानी सम्मेलन आयोजना गर्ने बताएको थियो । स्थानीयको आम्दानी बढाउँदै समृद्धिको गन्तव्यमा पुग्न नगरले देशभरका मुख्य लगानीकर्ताको भेला आयोजना गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
लगानी सम्मेलन आयोजना गर्ने सम्बन्धमा कार्तिक १८ गते काठमाडौमा पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं. १ का सांसद झलनाथ खनालको प्रमुख आतिथ्य, पूर्व सभामुख÷ संविधान सभा अध्यक्ष तथा इलाम क्षेत्र नं. २ का सांसद सुवासचन्द्र नेम्वाङ्गको विशेष आतिथ्यमा पुर्व तयारी बैठक सम्पन्न गरिएको थियो । बैठकमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष एवम गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, पञ्चकन्या ग्रुपका प्रदिप श्रेष्ठ, पुर्व अध्यक्ष कुशकुमार जोशी र रविभक्त श्रेष्ठ, केन्द्रिय सदस्य चन्द्र ढकाल लगायतका उद्योगी एवम व्यवसायीहरु इलाममा लगानी गर्न इच्छुक देखिएका थिए ।