इलाम । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत गरेपछि इलामबासी खुशि भएका छन् । ओझेलमा परेका पर्यटकिय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ नयाँ पर्यटकिय क्षेत्र घोषणा कार्यक्रम अन्तगरगत इलामको माइपोखरी सुचिकृत गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु मध्ये पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माईपोखरी छनौट गरेपछि इलामका जनप्रतिनिधिदेखि पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारको सिफारिसमा घोषणा गरिएको पर्यटकीय गन्तव्य माईपोखरी इलामको सन्दकुर गाउँपालिका वडा नम्बर १ र ४ मा अवस्थित छ । नयाँ पर्यटकीय गन्तव्यका लागि इलामका एक दर्जन पर्यटकीय क्षेत्र प्रस्तावित गरिएकोमा माईपोखरीलाई छनौट भएको हो । त्यसमध्ये सार्वजनीक सुचना, अध्ययन र विज्ञको सुझावका आधारमा माईपोखरीलाई घोषणा गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । घोषणा भएको पर्यटकीय गन्तव्य माइपोखरीको प्रवद्र्धनका लागि स्थानीय तहले नेतृत्व गर्ने र निजी क्षेत्र,प्रदेश सरकार र संघीय सरकारले सहयोग गरि भौतीक पूर्वाधार निर्माण गरि घुम्नयोग्य बनाइनेछन् ।
सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गर्ने मन्त्रालयको योजना छ । ‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक घुमाउने लक्ष्यका साथ एक जिल्लामा एक गन्तव्य घोषणा गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
यस्तो छ माईपोखरीको महत्व
सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।
माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ । सिंगो इलामको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकलाई स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै आरामदायी बसाईका लागि पोखरी आसपासमा सुविधासम्पन्न होस्टे र होटल संचालनमा छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने असंख्य पर्यटक वर्षेनी आउने गरेका छन् ।