सन्दकपुर । सरकारले प्रदेन नम्बर १ को पर्यटकीय गन्तव्य घोषणा गरेको इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्यटकले भरिएको छ । समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा भारतको दार्जिलिङ्ग र नेपालको इलाम सदरमुकाम भएर देश विदेशका सयौँ पर्यटक दैनिक रुपमा पुग्ने गरेका छन् । दर्जनौँ हिमालका दृश्य र हिमाली जिवनशैली, चराहरुको चिरबिर आवाज र सूर्योदय तथा सूर्यास्तको उत्कृष्ट दृश्यावलोकले गर्दा सन्दकपुरमा वर्षमा ६० हजार बढी पर्यटकले भ्रमण गर्दै आएका छन् । नेपाल तर्फ भौतिक पूर्वाधारको विकास कम भएका कारण भारतपट्टिको दार्जिलिङ्ग भएर धेरैजसो पर्यटक आउने गरेको छन् ।
पर्यटकीय सिजन शुरु भएसँगै अहिले मानेभञ्ज्याङ्ग सन्दकपुर पर्यटकीय क्षेत्रका होटलहरु खचाखच भएका छन् । पर्यटकको संख्या बढेपछि होटल व्यवसायीले आफु सुत्ते कोठासँगै होटल बाहिर टेन्ट राखेर पर्यटकको सेवा दिँदै आएको कालपोखरीका पर्यटन व्यवसायी पेम्बा सेर्पाले बताउनुभयो । भारत र तेस्रो मुलुकका पर्यटकको संख्यामा वृद्धि आएसँगै सन्दकपुर डाँडामा पुग्ने नेपाली पर्यटकले भने बास बस्नै समस्या रहेको छ ।
तीन महिना अघिनै होटल बुक गरेर पर्यटक आउने गरेकाले बुकिङ्ग गरेका बाहेक पर्यटक आउँदा बास दिननै समस्या भएको सन्दकपुरमा रहेको सेर्पा च्यालेट होटलका प्रोपाइटर पेमाडन्डु सेर्पाले बताउनुभयो । ‘अहिले सन्दकुर डाँडामा दैनिक ४ सय बढी बाह्य पर्यटक आइरहेका छन्, सेर्पाले भन्नुभयो–‘सबै होटलहरुमा तीन महिना अघि नै होटल बुक गरेका पर्यटकले भरिएकाले आन्तरिक पर्यटकलाई राख्ने ठाउँ नहुँदा नेपाली गाउँतिर पठाउने गरेका छौँ ।’ नेपाल र भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रको मानेभञ्ज्याङ्ग फालुट ४२ किलोमिटर पर्यटकिय पदमार्गमा अहिले पर्यटकको लावालस्करै देखिन थालेको छ ।
नेपालका पाँचथर, इलाम तथा भारतको पश्चिम बंगालको सिमानामा रहेको समुन्द्र सतहबाट ३६ सय ३६ मिटर अग्लो सन्दकपुर पूर्वी नेपालको प्रसिद्ध माई नदीको मुहान भएकाले अहिले धार्मिक पर्यटकको संख्या पनि बढ्दै गएको होटल व्यवसायी रिञ्जि सेर्पाले बताउनुभयो । इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्बर ४ र २ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रबाट अग्लो शिखर सगरमाथा, कञ्चनजङ्घा,कुम्भकर्ण, मनास्लु, अन्नपूर्ण लगायत ६० बढी हिमाल र नेपाल भारतका धेरै भुभागको नजिकबाट हेर्न सकिने हुँदा यहाँ बर्सेनि हजारौं पर्यटक आउने गरेका छन् । नेपालतर्पmबाट सडक नहुँदा र भौगोलिक कठिनाइ भएको हुँदा अधिकांश पर्यटक भारतीय बाटो हँुदै सन्दकपुर आउने गरेका हुन् ।
सन्दकपुरमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गरेका छन् भने तेस्रो मुलुकका पर्यटक र नेपाली पर्यटक कम मात्रामा पुग्ने गरेका छन् । दोस्रोमा एशिया र युरोपका पर्यटक आउने गरेको सन्दकपुरमा होटल गर्ने नेपाली छिरिङ शेर्पाले बताउनुभयो । मानेभञ्ज्याङ्ग सन्दकपुर पर्यटकीय क्षेत्रको अधिकांश भूभाग नेपालतर्फ परे पनि भौतिक संरचना निर्माण नहुँदा नेपाली पर्यटकले पनि भारतीय बाटो पयोग गर्नुपर्ने बाध्यता रहेको छ । भारतीय पक्षबाट यहाँ सीमा सुरक्षा बल, निकुञ्जको कार्यालय, प्रशासन कार्यालय रहेको यस पर्यटकीय क्षेत्रमा अहिले नेपालको कालपोखरीमा मात्र नेपाल प्रहरीको अस्थायी चौकी स्थापना गरिएको छ । सन्दकपुरमा १५ वटाजति होटल रहे पनि नेपालीका ३ वटा मात्र होटल रहेको होटल सनराइजका सञ्चालक छिरिङ दोर्जे शेर्पाले बताउभयो । धेरैजसो होटलहरु भारतको सरकारी निकायले निर्माण गरेका छन् । नेपाली क्षेत्रमा रहेका होटलहरुमा तीन सय बढी पर्यटक अटाउने गरेका छन् भने बाँकी पर्यटक भारतीय होटलमा बस्दै आएका छन् ।