इलाम । हिउँदे आलु रोप्ने सिजनमा डिएपि मलको अभाव भएपछि इलामका किसान समस्यामा परेका छन् । व्यवसायीक रुपमा आलु खेती गर्दै आएका किसानले डिएपि मलको अभाव भएपछि किसान समस्या परेका हुन् । आलु रोप्दा बनाइएको ड्याङमा बिउ आलुसँगै डिएपि लगाउने गरिएपनि मलकै अभाव भएपछि किसान समस्यामा परेको सूर्योदय नगरपालिका ९ का सागर पराजुलीलले बताउनुभयो ।
रसायनिक मलको बिक्रि गर्दै आएको कृषि सामग्री संस्थानको इलाम डिपोमा एक महिना अघिदेखि डिएपि मल रित्तिएको छ । ग्रामीण क्षेत्रबाट किसानलाई मल बिक्रि गर्दै आएका सहकारी संस्थाबाट डिएपि मलको माग गरेपनि अहिले गोदाममा नरहेको कृषि सामग्री संस्थान इलामका कार्यालयकी प्रमुख गोमा राईले बताउनुभयो । किसान र सहकारी संस्थाको माग रहेपनि तिहारपछि मात्रै डिएपि मल डिपोमा आउने वहाँले बताउनुभयो ।
कृषि सामग्री संस्थान इलामले जिल्लाका ४३ वटा सहकारी संस्थाबाट रसायनिक मलको बिक्रि गर्दै आएको छ । एक पटकमा एक सहकारीलाई युरिया, डिएपि र पोटास एक÷एक बोरा बिक्रिका लागि प्रदान गर्दै आएको छ । इलाममा युरिया एक हजार १४, डिएपि २३ सय ६४ र पोटास १६ सय ६४ रुपैयाँमा डिपोबाट विक्रि गर्दै आएको हो ।
कृषि सामग्री संस्थानको इलाम कार्यालयमा डिएपि मलको अभाव भएपनि युरिया र पोटास भने किसानको माग अनुसारकै रहेको छ । संस्थानकी कार्यालय प्रमुख गोमा राईका अनुसार युरिया ७५ दशमलव ५५ मेट्रिक टन र पोटास २ दशमलव ५ मेट्रिक टन मौजात रहेको छ ।