इलाम । पूर्वी नेपालको पहाडी जिल्ला इलामको सीमावर्ती बजार पशुपतिनगरमा बसपार्क नहुँदा गाडी पार्किङ्गमा समस्या भएको छ । दैनिक रुटका सवारीसाधनसँगै नेपालबाट भारतको दार्जिलिङ्ग जाने पर्यटक र भारतबाट पशुपतिनगर घुम्न आएका पर्यटकको संख्या बढेसँगै पार्किङ्गस्थलको समस्या भएको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए।
पार्किङ्गस्थल र बसपार्क नहुँदा सडकको छेउ, प्रहरीको कार्यालय परिसर र स्थानीयबासीको पेटिभिरी नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधन राखिएको छ । दशैँ बिदा मनाउन नेपालका विभिन्न क्षेत्रबाट भारतको दार्जिलिङ्ग भ्रमण गर्ने पर्यटकको संख्या बढेको र भारतको दार्जिलिङ्ग घुम्म आउने भारतीय नागरिक पशुपतिनगर आउने गरेकाले सीमा नाका सवारीसाधन व्यवस्थापनमै समस्या भएको हो ।
नेपाल र भारतका दुवै क्षेत्र पर्यटकीयस्थल भएपनि पार्किङ गर्ने छुट्टै स्थान नभएकाले सवारी व्यवस्थापनमा समस्या भएको अाेलीले बताए । सीमा क्षेत्रको भारतपट्टि सडकमै पनि सवारीसाधन पार्किङ्ग गर्ने स्थान नहुँदा भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाली बजार पशुपतिनगरको व्यापारिक केन्द्रको सडकमा पार्किङ्ग गर्दै आएका छन् । सीमा क्षेत्रमा रहेको पशुपतिगनर भन्सार कार्यालयले संकलन गर्ने सुविधा काटेर भारतीय सवारीसाधनले दिनभर नेपाली सडकमा पार्किङ्ग गर्दै आएका छन् । भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाली बजार पशुपतिनगर बजारसम्म जानका लागि पशुपतिनगर भन्सार कार्यालयले २० रुपैयाँ शुल्क लिएर प्रवेश दिँदै आएको छ ।
नेपली गाडि पार्किङ्ग गर्न समस्या रहेको पशुपतिगनरमा भारतीय नम्बर प्लेटका सवारीसाधन पनि थपिदा ट्राफिक व्यवस्थापनमा नै समस्या हुने गरेको सूर्योदय नगरपालिकाका ट्राफिक प्रमुख दुर्गा बस्नेतले बताए। पशुपतिनगर पूर्वी पहाडी जिल्लाको नेपाल र भारतको सीमा नाका हो ।