इलाम । नेपालकै अधिक अदुवा उत्पादन हुने इलाममा अदुवाको किनबेच शुरु भएको छ । निर्यातमा पटक पटक समस्या भोग्दै आएको इलामको अदुवाले सयपालि भने उत्पादनको सिजन शुरुमै मूल्य पाएको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय देखि एक हजारसम्म प्रतिमन (४० किलो) बिक्रि भएको अदुवा अहिले २ हजार देखि २२ सय सम्ममा इलामका व्यपारीक केन्द्रमा खरिद भइरहेको छ । अशोजको पहिलो सातादेखि किसानले उत्पादन बिक्रि शुरु गरेको सूर्योदय नगरपालिका १० व्यवसायी मनोरथ अधिकारीले बताउनुभयो ।
उत्पादनको शुरुमै अदुवाको भाउ राम्रो आएपछि इलामका अधिकांश व्यापारिक केन्द्रहरुमा अदुवा बिक्रि गर्ने किसानको जमघट बढेको छ । नजिकिएको चाडपर्वसँगै व्यवसायीक रुपमा खेती गरिएको अदुवाले भाउ राम्रो पाएपछि किसानले बारीबाट खनेर बजार पर्याइ दशै खर्च चार्ने योजना बनाएका छन् ।
अदुवाकोे सिजन शुरु भएसँग व्यपारिक केन्द्रमा कोही किसान भाऊ बुझ्ने त कोही उत्पादित अदुवा विक्रीका ल्याउने गरेको सूर्योदय उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले बताउनुभयो । अघिल्लो वर्ष अदुवाबाट नराम्रो तरीकाले ठक्कर खाएका किसानले यस वर्षको सिजनमा राम्रो मुल्य पाएको वहाँले बताउनुभयो ।
अघिल्लो वर्ष बच्चा अदुवाबाट प्रतिमन बढीमा एक हजार थापेका किसान अहिले अदुवाको दोब्बर भाउ पाएपछि किसान उत्साहित रहेका छन् । अहिले जिल्लाका धेरै किसानले अदुवा बेचेर राम्रो आम्दानी गरिरहेका हुन् । यस पटक अघिल्लो वर्षभन्दा दोब्बर मुल्यमा खरिद भइरहेको छ सूर्योदय नगरपालिका १० हलेशि स्टोरका व्यवसायीय नोमनाथ त्रितालले भन्नुभयो–‘अघिल्लो वर्ष अदुवाको भाऊ मात्रै थिएन सस्तोमा किनेको अदुवा भारत निकासीको समस्याले चिन्ता थियो । तर अहिले अदुवा निबार्ध रुपमा अदुवा निकासी भइरहेको वहाँले बताउनुभयो ।
४ मन अदुवाको बिऊ खरिद गरि रोपण गरेका सूर्योदय नगरपालिका ९ का प्रेमसागर पराजुलीले यो वर्षको अदुवाको भाऊ आएकाले दशैँ खर्चृ टार्न सजिलो भएको बताउनुभयो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवा इलाम नगरपालिकाको बिब्ल्याँटे, नेपालटार, गोलाखर्क, सूर्योदय नगरपालिकाको फिक्कल, गोर्खे, देउमाई नगरपालिकाको मंगलबारे र माईजोगमाई गाउँपालिकाको नयाँबजार व्यपारिक केन्द्रमा खरिद बिक्रि हुँदै आएको छ ।
अहिले जिल्लाका व्यापारिक केन्द्रमा दैनिक ३ हजार मनभन्दा बढी अदुवाको बिक्री भइरहेको छ । अघिल्लो वर्षभन्दा यस पटक अदुवाको भाउ दोब्बर आएको छ व्यवसायी मनोरथ अधिकारी भन्नुहुन्छ ‘अदुवा भारत निर्यात हुने भएकाले भारतीय बजारमा भाउ बढ्ने र घट्ने निर्भर हुन्छ ।’ नेपाली अदुवा भर्खर बजारमा आउन थालेको र अब भाऊ घट्ने÷बढ्ने भारतीय किसानले उत्पादन गर्ने अदुवाको परिमाणमा पनि भर पर्ने व्यवसायी अधिकारीले बताउनुभयो ।
अदुवा खेतीबाट इलाममा एक आर्थिक वर्षमा तीन अर्ब बढी नेपाली रुपैयाँको खरिदबिक्रि हुने गरेको छ । कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र ) इलामका अनुसार इलाम गत आर्थिक वर्षमा ४५ हजार नौ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, माई नगरपालिकाकामा बढी अदुवा खेती हुँदै आएको छ ।