इलाम । जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ बर्षिया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो । १४ बर्षको उमेरमा नै विवाह गरेकी उनलाई ४ महिनाको नवजात सिशु सहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सिपमुलक तालिम दिँदैछ । माइती नेपालको कार्यालयमा भेटिएको ति युवतीले श्रीमानले दिनरात रक्सी खाएर झगडा गर्ने गरेपछि माइत बसेकी उनी सुख दिन्छु भनेकाले हिडेको बताइन् । उनले भनिन ‘२ बर्ष भारतमा काम गर्ने अनि नेपाल फर्किन योजना थियो ।’
उनीसंगै सोही दिन नै ११ कक्षामा अध्ययनरत सुर्खेतकी १६ बर्षिया र १० कक्षामा अध्ययनरत रुकुमकी १५ बर्षिया युवतीलाई समेत पशुपतीनगरको होटलबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको छ । मानव ओसार पसारमा संलग्न कालिकोट सन्नीत्रिवेणी गाउँपालिका ९ घर भएका वर्ष ३० का लोकेन्द्र तिरुवा, २४ वर्षका लंक तिरुवा र २९ वर्षका जनक तिरुवा रहेको प्रहरीले जनाएको छ । गाँउघरमा लुगाकपडा बेच्ने उनीहरुले प्रलोभनमा पारेर पशुपतीनगर सिमा नाका कटाउने उद्धेश्य राखेका थिएर एक जना सीमा कटाइसकेका थिए ।
तर प्रहरी र माइती नेपालले समयमा नै थाहा पाएपछि उनीहरु सफल हुन नसकेपछि अहिले मानवबेचविखन मुद्धामा प्रहरी नियन्त्रणमा छन् । फरक फरक स्थानमा युवतीलाई फकाएपछि उनीहरुले पशुपतीनगरमा भेला गराएका थिए । सुर्खेत र रुकुमकी युवतीलाई दमकमा राखेर पशुपतीनगर ल्याइएको थियो भने बच्चा सहितकी युवतीलाई बुटबलबाट सिधै पशुपतीनगर ल्याएर दार्जिलिङ्गको एक होटलमा पु¥याएपछि तत्काल प्रहरीले उद्धार गरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीलले बताउनुभयो ।
‘२ जनालाई पशुपतीनगरमा राखिएको थियो भने एक जनालाई सिमा नाका कटाएर दार्जिलिङ पु¥याइएको रहेछ’ माइती नेपालका होम ढकालले भने ‘ पशुपतीनगरमा राखिएको २ जनाको व्यवहार शंकास्पद लागेपछि होटल व्यवसायीलले खबर गरेर पछि बुझ्दा भारत तर्फ लग्ने तयारी भएको बुझियो । ’
जाँजरकोटकी युवती बच्चा सहितकी भएकाले परिवारका पुनःस्थापना गर्न समेत कठिन भएकाले व्यवहारिक सिपमुलक तालिम प्रदान गरिदै आएको ढकालले बताए । त्यसअघि पनि गत भदौ ३१ गते भारत कटाउन लागिएकी फिदिम नगरपालिकाका–५ की १९ वर्षीया युवतीलाई नेपाल प्रहरी, भारतीय सुरक्षाकर्मी र माइती नेपालको टोलीले इलामको पशुपतिनगर नाकाबाट घर फर्काएको थियो ।
प्रहरीले मानव बेचबिखनमा संलग्न भारत दार्जिलिङ राङवाङका दलवीर मुखिया र विवेक राईलाई पक्राउ गरेको थियो । उनीहरु दुवै विरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मुद्धा दायर भएको छ । प्रहरीका अनुसार अनेक वाहाना बनाएर विवाह गर्छु, जिन्दगीभर सुख दिन्छु भनी फकाउँदै पीडित युवतीलाई जबर्जस्ती राँकेसम्म ल्याएको पिडित प्रहरीले बयान दिएकी भिइन् ।
गाडी रोक्न आग्रह गर्दा परिवारले थाहा पाएर केटी मान्छेको इज्जत जान्छ बिहे गर्छु भन्दै फकाएर पशुपतिनगरसम्म ल्याएको पिडित युवतीले बताइन् । नाका नजिकै प्रहरी देखेपछि युवती जान नमानेपछि भारतीय युवाले युवतीलाई तानेकाले लागेपछि प्रहरी र माइती नेपालका प्रतिनिधीले सोधपुछ गर्दा फकाएर भारत लान लागेको थाहा भएको प्रहरी निरिक्षक हेमराज ओलीले बताउनुभयो ।
एक हप्ताको बिचमा भएका यी दूई प्रतिनिधि घटना मात्रै हुन् । खुल्ला सीमाना, सीमा क्षेत्रमा नेपाली प्रशासनको पातलो उपस्थितिले गर्दा पशुपतिनगर नाका दलाललाई सीमा कटाउने सजिलो नाका भएको छ । भारत कटाएकी जाजरकोटकी १५ बर्षिया युवतीलाई बिहान ९ बजेको समयमा प्रहरी र माइती नेपालका कर्मचारीको छलेर दार्जिलिङ पु¥याइएको थियो । पारिवारिक कलह, घरेलु हिंसामा परेका महिला धेरैजसो दलालको फन्दामा परेर सीमा कटाउने गरेको पाइएको सामुदायीक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष कमल गदालले बताउनुभयो ।
उच्चशिक्षा पढेकाहरू पनि दलालको पञ्जामा पर्ने गरेका छन् । उनलाई आवधिक गृहमा दुई दिनसम्म परामर्श दिएर परिवारको जिम्मा लगाइएको थियो । पशुपतिनगर मानव तस्करीको बाटो बन्दै गएकोप्रति चिन्ता बढिरहेको अवस्थामा पछिल्लो पटक नाकाबाटै युवतीको उद्धार गरिएको छ । दलालको फन्दामा पर्ने अधिकासं महिला रोजगारी मिलाउने भन्दै प्रलोभनमा पार्दै आएको प्रहरी अनुसन्धानको निष्कर्ष रहेको छ । चेलिबेटी बेचबिखनका घटनाको अनुसन्धान गरिरहेका पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रमुख हेमराज ओली भन्छन्—‘दलालले महिलालाई तत्काल सोच्नै नसक्ने गरि प्रलोभनमा पार्ने र फसाएर सीमा कटाउने गरेका छन् ।’ दलालले अशिक्षित महिला मात्रै हैन शिक्षित महिलालाई पनि चिनजान भएको एक दूई दिनमै फसाएको उनी बताउँछन् ।
नेपाल भारत सीमा क्षेत्रको इलामका पशुपतिनगर, गोर्खेको मानेभञ्ज्याङ्ग, जौबारी र कालपोखरीमा नेपाल प्रहरीको युनिट भएपनि जोगमाई, समाल्बुङ, श्रीअन्तु, जिर्मले, छिरुवा, छब्बिसे लगायत दर्जनौ चारेबाटो महिला भारत कटाउने सजिला नाकाको रुपमा रहेको माइती नेपाल आवधिक गृह पशुपतिनगरका प्रमुख होम ढकालले बताउनुभयो ।
माइती नेपालको तथ्याङ्क अनुसार सन् २०१८ को सेक्टेम्बर महिनासम्ममा पशुपतिनगर नाकाबाट भारत जान लागेका ७३ महिलालाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइएको छ । यस्तै प्रहरी र माइती नेपालको टोलीले सो अवधिमा ७ जना भारतका विभिन्न स्थान र एक जना झापाको दमकबाट उद्धार गरिएको थियो । माइती नेपालमा हराएका ३३ वटा निवेदन दर्ता भएकोमा ८ जना फेला पारि परिवारलाई उद्धार गरिएको छ ।
पछिल्लो समय तस्करहरूले महिलालाई फसाउन निःशुल्क भिसासहित आश्वासन, सुखको प्रलोभनमा नेपालको सीमा कटाउँदै आएका छन् । माइती नेपालको तथ्यांक अनुसार पशुपतिनगर आसपासका नाकाबाट ५३ जिल्लाका महिलाहरु सीमा कटाइएको पाइएको छ । दलालले मुख्य नाकाभन्दा पनि चोरबाटो प्रयोग गर्न थालेकाले इलामका संघसंस्थाले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको पोष्ट स्थापनाको माग गर्दै आएका छन् । विभिन्न बहानामा भारत लगिनेमा १४ देखि २७ वर्षका युवतीहरू बढी रहेको माइती नेपालले जनाएको छ ।