Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चियाकै राजधानीमा चिया उद्योग संकटमा

चियाकै राजधानीमा चिया उद्योग संकटमा

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज २१ २०७५


चियाकै राजधानीमा चिया उद्योग संकटमा

इलाम । चियाको राजधानीको रुपमा परिचित सुर्योदय नगरपालिकामा कच्चा पर्दाथको अभावमा चिया उद्योग बन्द हुन थालेका छन । उद्योगको संख्या बढेपनि चिया रोपण नबढेपछि चिया उद्योग बन्द हुन थालेको हो । कच्चापदार्थको खरिदमा अत्याधिक प्रतिष्पर्धा समेत भएकाले उद्योग बन्द गर्नुपरेको मेची भ्याली चिया उद्योगका संचालक विमल प्रधानले बताए । उद्योगको दैनिक प्रशोधन क्षमता ६ हजार केजी भएपनि १२ सय किलो मात्र संकलन हुँदै आएकाले २०७५ साउन देखि नै उद्योग बन्द गरेको संचालक प्रधानको भनाइ छ । मेची भ्याली मात्रै हैन सूर्योदय नगरपालिकामा स्थापना भएका इन्द्रावती चिया उद्योग, झुल्केघाम चिया उद्योग, इलामेली चिया उद्योग, चाहाना हाते चिया उद्योग र आयुस चिया उद्योग बन्द रहेका छन् ।
बिषादीका कारण तेस्रो मुलकमा चिया निर्यात नहुँदा भारतीय बजारमा भर पर्नुपर्ने र भारतीय बजारमा चिया खरिदबिक्री कम भएपछि खर्च धान्न नसकेर उद्योगीले उद्योग नै बन्द गर्न थालेको सूर्योदय नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष टिका अधिकारीले बताए । नियमित विद्युत आपूर्ती नहुनु, पाँच ठाउँमा कर तिर्नुपर्ने, भारतीय बजारमा चिया बिक्री नहुनु र हरियो चिया पत्तिको न्युनतम मुल्य ४० रुपैयाँ भएपनि गुणस्तरीय नहुने भएकाले उद्योग बन्द हुने क्रम बढेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।

प्रशोधन क्षमता भन्दा एक तिहाई हरियो चियापत्ती उत्पादन
केन्द्रिय तथ्याङ्क विभाग र चिया तथा कफि विकास बोर्डले गरेको व्यवसायीक चिया खेती सर्वेक्षणका अनुसार नेपालमा चिया प्रशोधन गर्ने कारखानाको क्षमता भन्दा एक तिहाई हरियो चिया पत्ति उत्पादन हुने गरेको छ । नेपालमा चिया प्रशोधनका लागि एक सय १३ वटा उद्योग संचालनमा रहेका छन् । चिया प्रशोधन उद्योगको बार्षिक तयारी चिया उत्पादन क्षमता ५ करोड २१ लाख किलो रहेको छ । तर १ सय १३ उद्योगले बार्षिक १ करोड ८९ हजार ५८ हजार किलो हरियो चियापत्ती प्रशोधन गर्दै आएको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक वद्रि कार्कीले बताए ।

कार्कीका अनुसार नेपालमा रहेका चिया कारखानाका उपयोग ३६ दशमलव ४ प्रतिशत मात्रै रहेको हो ।आर्थिक वर्ष २०७४÷७५ को बार्षिक कार्यक्रम अनुसार एक वर्ष लगाएर केन्द्रिय तथ्याङ्क विभागले संकलन गरेको तथ्याङ्क अनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गएपनि चिया खेती विस्तार कम हुँदै गएको छ । उद्योगहरु धेरै खोलिएका कारण उत्पादन भएको हरियो चिया पत्ति तीनै उद्योगहरुमा बाढिने र चिया खेती विस्तार कम हुँदा उद्योगहरुको बार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कमीले तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

चिया रोपण क्षेत्र निरन्तर घट्दै
२०७० सालपछिदेखि चियाको रोपण अत्याधिक कम भएको र उद्योग खोल्ने क्रम बढेकाले उद्योगले समस्या भोग्दै आएको चिया उद्यमी एवम प्रदेश नं १ का सासंद काजिमान कागतेले बताए । चिया रोपणका लागि सरकारी क्षेत्र र बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाइने भएकाले पनि किसानले चिया खेती विस्तार गरेका छैनन् । रोपण भएको चार वर्षपछि मात्रै उत्पादन दिने भएकाले चिया किसानले चिया रोपणमा लिएको ऋणको ब्याज तिर्न समस्या हुने गरेको चिया किसान सागर पराजुलीले बताए ।
सीमावर्ती भारतीय क्षेत्रमा रहेका चिया उद्योगमा कच्चापदार्थ कम भएका कारण नेपालबाट महङ्गो मुल्यमा चिया खरिद गरि निर्यात भएकाले पनि नेपाली चिया उद्योगमा कच्चापदार्थको अभाव भएको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिकाले चियाको समर्थन मुल्य तोक्दा नेपाली हरियो चिया भारतीय बजारमा निर्यात गर्न नपाउने नियम बनाएपनि हरियो चिया निर्यात भइरहेको चिया उद्योगी सुजन नेपालले बताउछन । नेपाली चिया उद्योगमा कच्चापदार्थको अभाव भइरहेका बेला भारतीय चिया उद्योगले नेपाली चिया खरिद गरेपछि सूर्योदय चिया एशोसिएसन इलामले हरियो चिया पत्ति निर्यात रोक्न सरकारी निकायलाई आग्रह गरेको खासै चासो नदिएको सुर्योदय चिया एसोसिएनसका सचिव गोपाल कट्टेलले बताए ।

उनका अनुसार दैनिक रुपमा सुर्योदय नगरपालिकामा मात्र ४० हजार केजी हरियो चियापत्ती अभाव भइरहेको छ । नगर क्षेत्रभित्र संचालनमा रहेको ५८ मध्ये ५ उद्योग कच्चा पर्दाथ अभावका कारण बन्द रहेका छन । दैनिक रुपमा भारत तर्फ ११ हजार केजी हरियोपत्ती जाने गरेको बताउँदै भने ‘ भारत तर्फ जाने गरेको हरियो चियापत्तीमा रोक लगाउने हो भने ३÷४ वटा उद्योग संचालन हुन सक्छन ’

क्षमता भन्दा कम चिया आउने गरेको उद्योगीको भनाई
पछिल्ला वर्षमा कारखानाको क्षमता अनुसार हरियो पत्ति आउन छोडेको इलाम टी प्रोडुसर्स प्रालीका प्रबन्धक ओम काफ्लले बताए । साना र ठुला कारखानाहरु धेरै खुलेकाले दैनिक १० हजार हरियो चिया पत्ति प्रशोधनको क्षमता रहेको कारखानमा हरियो पत्ति संकलनमा धेरै हुँदा ६ हजार मात्रै हुने गरेको छ । दैनिक २० हजार हरियो चिया पत्ति प्रशोधनको क्षमता रहेको इलामका श्रीअन्तु स्थित समाल भ्याली चिया कारखानामा पनि मुस्किलले दैनिक ६ हजार किलो मात्रै संकलन हुने गरेको छ । केही बर्षअघिसम्म उद्योगको संख्या कम हुँदा क्षमताभन्दा बढी संकलन हुने गरेको थियो । डेनिस सरकारको सहयोगमा संचालित उन्नती समावेशी परियोजनाले चिया उद्योग स्थापनमा अनुदान दिन थालेपछि ह्रवात्तै चिया उद्योगको संख्या बढेको हो ।
समाल भ्याली चिया प्रशोधन उद्योका प्रबन्धक रुस्तान तामाङ्ग भन्छन्, ‘उद्योगको संख्या बढेअनुसार खेती विस्तार नहुँदा क्षमता अनुसारको चिया प्रशोधन गर्न पाइएको छैन ।’ नेपालमा १ करोड ६० लाख ३६ हजार सिटिसी, २६ लाख ७० हजार अर्थोडक्स, २ लाख २० हजार ग्रीन टी, ३२ हजार केजी स्पेसियाल तयारी चिया बन्दै आएको छ । चिया प्रशोधन उद्योगका अनुसार ४ किलो हरियो चिया पत्तिबाट १ किलो तयारी चिया बन्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार