काठमाडौं । पूर्व प्रधानमन्त्री एवम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतीयलाई नागरिकता बाँडने सुविधासहित ल्याउन लागेको नागरिकता ऐनप्रति कडा आपत्ती जनाएका छन । नागरिक ऐनसम्बन्धि विधेयकका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाएका हुन ।संसदमा पेश भएको नागरिकता ऐनको विरोध कार्यक्रममा उनले ऐन कानुन बनाउँदा संविधानको ‘स्पिरिट’बन्नु पर्ने बताए । ‘कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित हुन नहुनु हुँदैन,’ विदेशीले कुनै पनि हालतमा नागरिकता बनाउनु हुँदैन, उनले भने, ‘यही हो संविधानको मर्म ।’
ऐनमा त्रुटी छन्, उनले राज्य व्यवस्था समितिले पनि ऐनमा भएका विवादित विषयलाई ख्याल गर्नु पर्ने बताए । उनले भने,‘नेपालको राष्ट्रियहितमा ऐन बन्नु पर्छ, भएको त्रुटी संसदबाट सच्याउनु पर्छ ।’ उनले दुवैतर्फ विशाल राष्ट्र भारत र चीन भएका कारण जताबाट पनि जुनसकुकै बेला नेपालमा प्रहार हुन सक्ने बताए । ‘हामी दुई विशाल देशको बीचमा छौं,एक प्रतिशतमात्र यताउता हुने वित्तिकै हाम्रो सामाजिक विग्रिन्छ,’उनले भने । नागरिकता राष्ट्रियता, स्वाधिनता, भौगलिक अखण्डतासँग जोडिएको विषय भएका कारण ऐन खुकुलो बनाउन नहुने खनालको भनाइ छ।
वरिष्ठ नेता खनालले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय हितलाई प्रबद्र्धन गर्न पनि संघीय संसद र सरकारले सो विधेयकलाई सच्याउनुको विकल्प नरहेको स्पष्ट पारे । नागरिकता दिने कामलाई सरकारले सचेत ढंगल अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउँदै उनले नागरिकता वितरणसम्बन्धि हालको विवादलाई समाधान गर्न राष्ट्रिय बहसको आवश्यकतामाथि जोड दिए ।