इलाम । हजारौ सहिदको बलिदानपछि आएको संविधानलाई संस्थागत गर्नु नागरिकहरुको कर्तव्य रहेको इलाममा आयोजित संविधान दिवसको वक्ताहरुले बताएका छन । सुर्योदय नगरपालिकामा आयोजित चौथो संविधान दिवसको उपलक्ष्यमा बोल्दै प्रदेश नं १ की साँसद खिनु लङवा लिम्बुले संविधान कार्यान्वयनका लागी प्रदेश सरकारले २६ वटा ऐन पास गरी कार्यान्वयनको चरणमा रहेको बताइन । उनले प्रदेशसभाले आर्थिक ऐन पास गरेर स्थानिय तहमा विकासका योजनाहरुलाई अगाडी बढाइएको बताइन ।
संविधानमा नसमेटिएको अधिकार संसोधन गरेर थप गर्न सकिने लङवाले बताइन । उनले भनिन “ संविधान चलायनमान छ । समय अनुसार संविधानले सम्वोधन नगरेका कुराहरु प्रदेशको सिफारिसमा संसोधन हुन सक्छ ।” त्यसैगरी अर्को प्रदेश साँसद काजीमान कागतेले सरकार र जनप्रतिनिधीहरु सहि दिशामा हिड्न चाहेपनि केही दलले धर्म र जातको राजनिती गरेका कारण संघियता र संविधानको पुर्ण कार्यान्वयनमा चुनौती रहेको बताए । उनले भने “केही व्यक्ती र शक्तीहरु संघियता अन्यौलमा पार्न चाहन्छन त्यसकारण कार्यान्वयनका लागी सवैबाट खवरदारीको खाचो छ ।” फरक प्रसंगमा बोल्दै कागतेले संविधान र मुलुकीय ऐन संसोधन गर्न सकिने भएकाले बन्द हडताल छाडेर समन्वय र वार्ताको लागी तयार रहन सवै पक्षलाई आग्रह गरेका छन ।
नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा २९ औ बालदिवसमा आयोजित सांस्कृतिक कार्यक्रममा विजेता बनेका विद्यालयहरुलाई कदरपत्र र पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी संविधान दिवसको अवसरमा एकतापछिको अनेरास्ववियूको अगुवामा सदरमुकामा विभिन्न स्थानमा जनचेतनामुलक बोर्डहरु राखेका छन ।
नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश साँसद धिरेन्द्र शर्मा रमण र राम रानाको उपस्थितीमा संविधानमा शिक्षा, स्वास्थ्य लगायतको व्यवस्था उल्लेखित रहेको बोर्डहरु सदरमुकामका ४ स्थानमा राखेको छ । त्यसैगरी संविधान दिवसको अवसरमा सन्दकपुर गाउँपालिकाको आयोजनामा इलामको धार्मिक तथा पर्यटकीयस्थल माइपोखरीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । पोखरीको छेउछाउको झार उखेलिएको छ भने पोखरीको नौ वटै कुनामा सरसफाई गरिएको छ ।
यसैगरी सुर्योदय नगरपालिका र रोङ गाँउपालिकाको सिमाबजार हर्कटेमा समेत संविधान दिवस मनाइएको छ । हर्कटे बजार समितीका अध्यक्ष मणीकुमार गुरुङको नेतृत्वमा नेपाली झन्डा फहराइएको छ । स्थानियको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा संविधान सम्वन्धी नाराजुलुसको रयालीले बजार परिक्रमा गरेको थियो । संविधान दिवसको उपलक्ष्यमा फिक्कल बजारमा दिप प्रज्वलन गरिएको छ । जनप्रतिनिधी र स्थानियको उपस्थितीमा उपप्रमुख दुर्गादेवी भट्टराईले दिपप्रज्वलनको उद्धघाटन गरेकी थिइन ।