इलाम । सोमबार मलेसियामा विषाक्त मदिरा पिएर ज्यान गुमाउने ६ जनै नेपालीको पहिचान खुलेको छ । उनीहरूको शव नेपाल ल्याउने तयारी पनि थालिएको छ । मृत्यु भएकाको शव पोष्टमार्टम तथा आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन दूतावासबाट आवश्यक पहल भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मलेसियामा यसअघि पनि निम्नस्तरको मदिरा सेवनका कारण नेपालीको मृत्यु हुने गरे पनि ठूलो संख्यामा हताहती भएको यो पहिलो पटक हो। दूतावासले मलेसियामा रोजगारीका लागि पुगेका नेपालीलाई आफ्नो स्वास्थ्य र सुरक्षामा विशेष ध्यान पु¥याउन पनि अपिल गरेको छ। मलेसियन संचारमाध्यामका अनुसार विषाक्त मदिरा सेवनका कारण जम्मा १९ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नेपालबाहेक म्यानमार, बंगलादेश र भारतका नागरिक पनि छन्। उनीहरुले मण्डाली ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की सेवन गरेको पाइएको र परीक्षणका लागि तीनवटै ब्राण्डका मदिराको नमुना संकलन गरिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिरामीहरुमा पेट दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने र अचेत हुने लक्षण देखिएको छ।
