इलाम । दूई वर्षदेखि पानी नपर्दा अन्नबाली समेत भित्र्याउन नपाएका प्रदेश नम्बर १ को चार स्थानीय तहमा प्रदेश सरकारले स्थलगत अध्ययन गरेको छ । पानी अभावले पिरोलिएका सुख्खा क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेको प्रदेश सरकारसँग तत्काल राहात कार्यक्रम ल्याउन स्थानीयले माग गरेका छन् ।
तीन जिल्लाका ४ स्थानीय तहमा खडेरीले अन्नबालीसमेत सुकेपछि प्रदेश १ को मन्त्रिपरिषद्ले भदौ ७ मा सुख्खाग्रस्त क्षेत्र अध्ययन अनुगमन समिति गठन गरेको थियो । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादूर आङ्बोको संयोजकत्वमा प्रदेश सासंद, कृषि,आन्तरीक मामिला र मुख्यमन्त्री कार्यालयका उपसचिव रहेको समितिले सुख्खाग्रस्त क्षेत्रका जनप्रतिनधि र राजनीतिक दलसँग समाधानबारे अन्तरक्रिया सकेको छ ।

पाँचथरको तुम्बेवा र कुम्बायक, तेह्थुमको छथर र धनुकटाको चौविसे गाउँपालिकामा महिनौ अघिदेखि पानी नपरेपछि खानेपानीमा मात्रै समस्या नभएर बारीमा लगाएको अन्नबालीनै डढेको थियो । खाध्यान्न र अन्नबालीको बिऊ नै मासिने गरि खडेरीको समस्या देखिएकाले पानीको मुहान सुकेको क्षेत्रमा पानी ट्याङ्कर र अन्य क्षेत्रमा सिँचाई तथा खानेपानीको व्यवस्था सहितको राहात प्याकेज ल्याउने समितिका संयोजक तथा प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
माहामारीका रुपमा देखिएको खडेरीको समस्याले २ वर्षदेखि अन्न भित्र्याउन नपाएका ४ वटा स्थानीय तहका ३ हजार बढी परिवारले तत्काल सहयोग गर्न स्थानीय र प्रदेश सरकारसँग माग गरेका छन् । पानीको अभावले अन्नभण्डार र पशुपालन गोठ रित्तिएकाले सुख्खाग्रस्त क्षेत्र बसोबास गर्ने परिवार खर्च अभावले पिरोलिएका छन् ।
बर्षातका बेला पनि पानी नपर्ने, भएका मुहान सुक्नु र अन्यबाली बारीमै डढेको सुख्खाग्रस्त क्षेत्रमा सरकारले चाँडै राहात कार्यक्रम लिएर पुग्नुपर्ने देखिन्छ ।