रोङ । रोङ गाँउपालिका र स्थानिय सहभागीतामा पाथिभरा मन्दिर नजिकै निर्माणाधिन पार्किङस्थलको काम नसकिदै सम्पुर्ण भुक्तानी भएको स्थानियको आरोप छ । गाँउपालिकाको १० लाख र स्थानिय जनसहभागीता गरी कुल १२ लाख ३७ हजार २०५ रुपैयाको लागतमा भदौमा सम्पन्न पार्किङस्थलको सम्पुर्ण भुक्तानी बैशाख मा नै गरिएको छ ।
बैशाख २० गते पाथिभरा पार्किङ निर्माण उपभोक्ता समितीले कार्य सम्पन्न गरेको भन्दै वडा नं ३ को कार्यवाहक वडाध्यक्ष योगमाया सुनुवारले गाँउपालिकाकालाई प्राविधिक स्टिमेट अनुसार कार्य सम्पन्न भएकोले रकम भुक्तानी सिफारिस गरेकी थिइन । तर यता उपभोक्ता समितीका अध्यक्ष सुरज लिम्बु भने भदौ ११ गतेमात्र कार्य सम्पन्न भई बिल भरपाई फछयौट भएको बताउछन ।

उपभोक्ता समितीले कार्य सम्पन्न भएको प्रतिवेदन बुझाएपनि स्थानियको विरोधपछि गाँउपालिकाका प्रवक्ता मणीकुमार स्याङबोको नेतृत्वमा बनेको अनुगमन समितीले काम पुरा नभएको बताएपछि पुनः कार्य गरिएको थियो । गाँउपालिकाका स्टिमेट अनुसार सवारी पार्किङको लागी कुटिडाँडामा ११० मिटर, हाँसपोखरीमा १०८ मिटर र हावाघरमा ३० मिटर बनाउनुपर्ने देखिन्छ । तर गाँउपालिकाबाट निकासा भएको रकममा कुटिडाँडा र हाँसपोखरी पार्किङस्थलको मात्र भुक्तानी भएको देखिन्छ ।

उपभोक्ता समितीका अध्यक्षका अनुसार कुटिडाँडामा तोकिएभन्दा बढी काम भएको छ भने हाँसपोखरीमा ३० मिटर काम भएको छ । यता वडाध्यक्ष मातृका बरालले काम सम्पन्न नभइ प्राविधिक र अनुगमन समितीबाट सिफारिस भएर आएको बताए । बजेट अनुसार काम नभएको जनगुनासो आएपछि छानविन समिती बनाइएको थियो ।
अनुगमन समितीले समेत सिफारिस गरेपछि निकासाको लागी गाँउपालिकालाई पत्र लेखेको बताउँदै आफु विदामा रहेको बेला विल फछयौट भएको बरालको भनाई छ । उनले भने ‘प्राविधकहरुको पनि पार्किङ सम्पन्न नहुनुमा दोष छ । माथी कटिङ मात्र हेरियो फिलिङ हेरिएन ।’ काम सम्पन्न नभएर बाँकी रहेको बजेटबाट कार्य भएको बरालको भनाई छ । काम सम्पन्न भएर बजेट फछयौट भएको गाँउपालिकाका प्राविधिक गुमानसिंह सुव्बाले बताए ।

उपभोक्ता समितीले पार्किङस्थलको कटिङ गरेको माटो राजमार्गबाट उत्तर तर्फ डम्पिङ गरेको कारण सवारी आवागमनमा नै असहजता पैदा भएको छ । प्राविधिक सुव्वाले डम्पिङ गरेको माटो उपभोक्ता समितीले फिलिङ गर्नुपर्ने बताउर्दै असार मसान्तमा विल फछयौट भएको जानकारी दिए ।

स्थानिय योगेश चाम्लिङले उपभोक्ता समितीले सार्वजनिक सुनुवाइ हुन केही अघि मात्र काम पुनः सुरु गरी अहिले सुचारु रहेको बताए । स्थानिय बुद्धी भुजेलले हुनुपर्ने बजेट अनुसार गुणस्तरको काम नभएको गुनासो गरे । गत आर्थिक बर्षमा विनियोजित बजेट सकिएपनि काम भने यर्थावत नै रहको छ ।