फिक्कल। गत आईतबार फिक्कलबाट आफनो पिकअपमा सामान लोड गरेर नयाँबजार हिडेका चालक कमल घले ३१ घण्टापछि मात्र आफनो गन्तव्य पुगे । पिकअपमा उनीसंगै दुई जना ब्यापारी निमतेन्जी शेर्पा र डंगी लामा पनि थिए । चालक घलेले उन्नती समावेशी आयोजना अन्र्तगत निमार्ण भएको फिक्कल– गुप्ती– नयाँबजार सडकमा गाडी फसेपछि २ घण्टा लाग्ने बाटो काट्न ३१ घण्टा लागेको बताए ।
घले मात्र हैन अहिले फिक्कल–नयाँबजार सडक निर्माण कार्यले गति नलिदा इलामको माइजोगमाइ गाँउपालिका र आसपासका बासिन्दाहरुले सास्ती व्यर्होनुको विकल्प पनि छैन । बृद्ध अवस्थाका निमतेन्जी शेर्पाले यो सडक कालोपत्रे भएको देख्ने इच्छा मर्न थालेको बताए । उनले भने ‘सडक बनेर सहज रुपमा आवातजावात गर्न पाईन्छ भन्दा–भन्दै बुढेसकालले छोई सक्यो , सडक बनेन् ।’
ट्रयाक खनिएको ६५ वर्षपछि स्तरोन्नती शुरु भएको इलामको फिक्कल–नयाँबजार सडक अलपत्र परेपछि उत्तरपूर्वी इलामका बासिन्दा बर्खा याममा सास्ती खेप्न बाध्य छन् । जेष्ठ महिना देखि सडक अवरुद्ध भएपछि यातायत संचालन हुन छोडेपछि त्यस क्षेत्रका बासिन्दाले समस्या खेप्नु परेको हो । उन्नती परियोजना अन्र्तगत १४ करोड ४६ लाख ३४ हजार रुपियाँ खर्च गरि १६ महिनामा सक्ने सम्झौता गरेपनि निर्माण कम्पनीले आधामात्रै काम गरेपछि उक्त सडक अलपत्र परेको छ । सडकको आधा मात्र काम भएर अलपत्र परेपछि त्यस क्षेत्रका जनता निरास छन् । सडक बनेपछि कृषिजन्य उत्पादनले बजार पाउने र बिरामी भएर अस्पताल नपुगी ज्याग गुमाउनु पर्ने समस्या हट्नेमा आसावादी रहेका जनतालाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा १९ किलोमिटर सडकको यात्रा दुई बढी लाग्न थालेको छ ।

स्थानीय ब्यवसायी याम रसाईलीले १९ किलोमिटर दुरी भए पनि सरसामान ढुवानी गर्दा २ दिन लाग्ने गरेको बताए । यातायत संचालन हुन छोडेपछि उक्त क्षेत्रमा घोडाबाट सामान ओसारपसार गर्नु पर्दै आएको रसाईलीले बताए । उनले भने ‘ सरसामान त जसोतसो आईपुग्छ, बिरामी हुँदा अस्पताल पुग्नै नपाई मरिन्छ भन्ने पीर छ, बर्खाका ५ महिना काट्नै गाह्रो ।’
सरकारले उन्नती समाबेशी परियोजना मार्फत दुई वर्षअघि सम्झौता गरेको १९ किलोमिटर लामो फिक्कल–नयाँबजार सडकको तोकिएको समयमा ५५ प्रतिशत मात्रै काम भएको छ । नागार्जुन निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडक निर्माणमा ढिलाई भएपछि इलामको उत्तरपूर्वी माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बसोबास गर्ने ३० हजार जनसंख्या ६ दशक अघिदेखि समस्या भोग्दै आएका छन् । कल्भर्ट, नाली, ग्याबिन पर्खाल र ग्राभेलिङ्ग गर्ने जिम्मा पाएको निर्माण कम्पनीले निर्माणको आधामात्रै काम गरेपछि बाँकी काम कसरी गर्ने भन्नेमा सरकारी निकाय नै अलमलमा रहेको छ ।

विक्रम सम्बत २०१० सातामा तत्कालिन बडाहाकीम सन्तबिर लामाको नेतृत्वमा खनिएको सडक स्तरउन्नती गर्ने काम अलपत्र परेपछि माईजोगमाई गाउँपालिकाले चालु आर्थिक वर्षदेखिनै कालोपत्रे गर्ने योजना अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले उक्त सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकार मार्फत दुई करोड रुपियाँ बिजियोजन भएको र केन्द्रीय सरकारलाई ४० करोडको सिलिङ पेश गरीएको जानकारी दिए । अध्यक्ष राईले भने ‘केन्द्र र प्रदेश सरकार संग हारगुहार गरेर भए पनि सडक कालोपत्रेको काम चाडै थाल्छौ ।’
अध्यक्ष राईले गाउँपालिकाको केन्द्र पुग्ने सडक राम्रो नभए सम्म ग्रामिण सडक मात्र बनाएर केहि नहुने भएकाले उक्त सडकलाई प्राथमिक्तामा राख्ने बताए । हजारौ पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने फिक्कल–नयाँबजार सडक स्तरोन्नती गर्न रोकिएको काम तत्काल अघि बढाउन स्थानीयले माग गर्दै आएका छन् ।