Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम बजार शहरी खानेपानी आयोजनाका लागि एडिबीसँग सम्झौता

इलाम बजार शहरी खानेपानी आयोजनाका लागि एडिबीसँग सम्झौता

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २९ २०७५


इलाम बजार शहरी खानेपानी आयोजनाका लागि एडिबीसँग सम्झौता

 इलाम ।  नगरमा सञ्चालन हुने इलाम बजार तेश्रो साना सहरी खानेपानी आयोजनाका लागि चार पक्षबीच सोमबार बित्तिय सम्झौता भएको छ। एशियाली बिकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण गरीने योजनाका लागि खानेपानी आयोजना व्यवस्थापन कार्यालय, नगर बिकास कोष, इलाम नगरपालिका र इलाम बजार खानेपानी सरसफाई उपभोक्ता संस्थाबीच बित्तीय सम्झौता भएको हो।

खानेपानी आयोजना व्यवस्थापन कार्यालयको तर्फबाट उपनिर्देशक लिलाप्रसाद ढकाल, नगर बिकास कोषका आयोजना संयोजक सुवास पन्त, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र आयोजना उपभोक्ता समितिका अध्यक्ष केदार थापाबीच बित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। ८५ करोड रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको अवको काम भने टेण्डर प्रक्रियाबाट हुने भएको छ। साउन महिनाभित्र टेण्डर हुने र त्यसपछि आयोजना निर्माणको ढोका खुल्ने छ।

नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्र्तगत खानेपानी तथा ढल निकास विभागमार्फत आयोजना संचालन हुन लागेको हो। आयोजनाका लागि एडिबीमार्फत नेपाल सरकारले ७० प्रतिशत (५८ करोड ५७ लाख), नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग (२० करोड ९२ लाख), प्राप्त हुनेछ भने उपभोक्ताबाट पाँच प्रतिशत अर्थात चार करोड २७ लाख १५ हजार रुपैयाँ संकलन भइसकेको छ। उपभोक्ताबाट पाँच प्रतिशत रकम संकलन भएपछि योजना निर्माणका लागि चारपक्षबीच वित्तीय सम्झौता भएको हो।

आयोजना उपभोक्ता समितिले उपभोक्तबाट १५ हजार २०० रुपैयाँका दरले रकम संकलन गरेको हो। आयोजनाको ठेक्का लागेपछि दुई वर्षभित्र योजना सम्पन्न हुनेछ। लामो समयदेखि इलामनगरबासीले झेल्दै आएको खानेपानी समस्या समाधान हुने छ।

२० वर्षसम्म खानेपानी आपूर्ति हुने

साना शहरी आयोजनाले आउँदो २० वर्षसम्म सदरमुकामको खानेपानी माग पूरा गर्ने अनुमान छ। नगरमा प्रतिसेकेण्ड ३२ लिटर पानीको माग हुँदै आए पनि अहिले प्रतिसेकेण्ड ८ लिटर मात्र आपूर्ति भइरहेको छ। तर अब आयोजना बन्ने निश्चित भइसकेकाले दुइवर्ष पछि प्रतिसेकेण्ड ४४ लिटर पानी आपूर्ति हुनेछ। यस आयोजनाबाट ४१०० घरधुरीका २८ हजार १७२ जना लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए।

आयोजना इलाम नगरपालिका ६, ७, ८र ९ को आधा आधा भागका उपभोक्ताबाट लाभान्वित हुनेछन्। आयोजना निर्माण सम्पन्न पश्चात त्यसको सबै स्वामित्व इलाम नगरपालिकाले लिनेछ। आयोजना निर्माणका लागि जिल्लाको सन्दकपुर गाउँपालिकामा रहेको गिताङ, राते र मेवा खोलाको पानी आपूर्ति गरिनेछ। हाल पनि नगरमा गिताङ खोलाको पानी आपूर्ति भइरहेको छ। नगर विकास कोषका आयोजना संयोजक सुवास पन्तले आयोजना निर्माणको लागि निर्माण कम्पनीसँग सम्झौता भएकै दिन ऋण तथा व्यवस्थापन सम्झौता पनि हुने भएको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार