झापा । झापाको जयपुर चौकदेखि अर्जुनधारा नगरपालिका जोड्ने चारपाने नारायण चौक हात्तिकिल्ला जयपुर सडक खण्ड कालोपत्रे काम तिब्रताका साथ भएको छ । २०७६ असार २० मा हस्तान्तरण गर्नेगरि निर्माण शुरु भएको सडक २०७४ असार २० मा तत्कालिन जिल्ला विकास समितिले गजुरमुखि÷खनाल जेभिसँग निर्माण सम्झौता गरेको थियो ।
जिल्ला प्राविधिक कार्यालय झापाले प्राविधिक अनुगमन र निरिक्षण गर्दै आएको सडकको ७२ प्रतिसत काम सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका जोड्ने सडक संझौता भएको तीन महिनापछि निर्माणको काम शुरु भएको थियो । ६ किलोमिटर ३ सय मिटर सडकमा सबबेस, बेस बनाई प्रमियम कार्पेटिङ्ग ‘कालोपत्रे’ गर्ने संझौता भएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख सुशिल श्रेष्ठले बताए ।

५ करोड ६५ लाख २४ हजार ६ सय २१ रुपैयाँ ७७ पैसामा सम्झौता भएको सडकको अहिले अधिकासं संरचना बनिसकेका छन् भने कालोपत्रे गर्ने काम १८ सय मिटर क्षेत्रफलमा बाँकी रहेको छ । ६ दशमलव ६७ मिटर चौडा सडकको ३ दशमलव ७५ मिटरमा ३० एमएम र बाँकी ३ मिटर चौडामा २० एमएम बाक्लो कालोपत्रे बिच्छाउने काम भएको हो ।
सडकमा भौतीक संरचना बनाउने काम सकिएका छन्, निर्माण कम्पनीका प्रतिनिधि डिल्लि खनालले भने–‘सडकमा ११ वटा होम पाएप, २ वटा स्ल्याब कल्बट र ३५ सय मिटर नाला निर्माण गर्नुपर्नेमा पुरै काम गरि कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको छ ।’ स्ल्याब कल्बट फिनिसिङको काम सकिएपछि बाँकि सडक कालोपत्रे गरि हस्तान्तरणको चरणमा जाने खनालले बताए ।
कालोपत्रेमा आधुनिक प्रविधि
सडक कालोपत्रेमा अलकत्रा, गिटि तताउने र रोरिङ्ग गर्ने काम मानिसले गरिँदै आएपनि चारपाने नारायण चौक हात्तिकिल्ला जयपुर सडकमा आधुनिक मेसिनको प्रयोग गरिएको छ । टायर र दाउरा बालेर फलामको प्लेटमा अलकत्रा र गिट्टि १ सय ५८ सेन्टिग्रेट तापक्रममा तताएर मानिसले नै रोलिङ्ग गरिँदै आएपनि अहिले प्लान्टबाट यो काम गरिँदै आएको छ । यो सडकमा प्लान्टमा गिटि, बालुवा र अलकत्रा मिसाएर रोलिङ्ग गरिएको निर्माण सामग्रीले साइडमा पेभर मेसिन मार्फत कालोपत्रे गरिएको हो । यसरी खन्याएको अलकात्रलाई प्रतिघण्टा १० किलोमिटरको दरले लोडरले पेल्नुपर्ने हुन्छ । सडक निर्माण द्रुत गतिमा भएकाले सरकारी पक्षबाट स्याबासी पाएपनि गलत प्रचार भएको निर्माण कम्पनीको गुनासो गरेको छ । ‘म्याद आदि नसकिँदै ७० प्रतिशत बढी काम गरिसकेको छौँ–‘निर्माण कम्पनीका प्रतिनिधि डिल्लि खनालले भने–‘काम गरिरहेका र निर्माणको म्याद एक वर्ष रहेका बेला निर्माण कम्पनीको काममाथि गलत प्रचार भएकामा दुःख लागेको छ ।’ निर्माणको काम हुँदै गर्दा स्थानीय जनप्रतिनिधिले गुणस्तरीय काम नभएको भन्दै प्रचार गरेको उनले बताए ।
सडकको मापदण्ड
६ दशमलव ७५ मिटर चौडा रहेको सडकको बढी लोड हुने बिच भागको ३ दशमलव ७५ मिटरमा ३० एमएम बाक्लो र बाँकी ३ मिटरमा २० एमएम कालोपत्रे गर्नुपर्ने संम्झौता उल्लेख छ । ६३ सय मिटर सडक मध्ये अहिले ४५ सय मिटर सडकमा कालोपत्रेको काम सकिएको छ । कालोपत्रे गरिएको भागको काम गुणस्तर रहेको सडकको प्राविधिक अनुगमन गर्दै आएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर सुशिल श्रेष्ठले बताए ।

‘कालोपत्रे भएको क्षेत्रको अनुगमन गर्दा काम राम्रो देखिन्छ, श्रेष्ठले भने–‘सडकको छेउमा कालोपत्रे गर्ने बित्तिकैदेखि बाइकको पार्किङ्ग गरिएकाले केहि ठाउँमा मसिनो खाल्टो परेको देखिन्छ ।’ कालोपत्रे गरिएको सडक पुरै सेट हुनका लागि ९ महिनादेखि १२ महिनासम्म लाग्ने भएकाले हामीले स्थानीय उपभोक्तालाई मिलाएर मात्रै बाइक पार्किङ्गको अनुरोध गर्दै आएका छौँ, श्रेष्ठले भने ।
निर्माणको म्याद एक वर्ष रहेको र त्यसपछि पनि एक वर्ष ठेकेदारकै जिम्मामा सडक रहने भएकाले मर्मत तथा निर्माणका लागि ठेकेदारलाई पत्र काट्ने उनते बताए ।
गुणस्तरको प्रश्न के हो ?
चारपाने नारायण चौक हात्तिकिल्ला जयपुर सडक खण्डको ६३ सय मिटरमध्ये ४५ सय मिटर निर्माण कम्पनीले कालोपत्रे गरेको छ । ४५ मिटर सडक खण्डमा सबबेस र बेसको काम सकेर असार ९ गतेदेखि कालोपत्रे गर्ने काम शुरु भएको थियो । निर्माण कम्पनीले सो क्षेत्रमा असार १६ गते कालोपत्रे गर्ने काम सम्पन्न गर्यो । शुरुका तीन दिनमा निर्माण कम्पनीले २५ सय मिटरमा कालोपत्रे बिच्छ्याउने काम गरेको देखिन्छ ।
चौथो दिन निर्माण कम्पनीको टिपरमा १० तगारी जति अलकत्रा, गिट्टि र बालुवा राम्रो रोलिङ्ग ‘नघोलिएको’ निर्माण सामग्री सडकमा प्रयोग भयो । निर्माण सामग्री राम्रो नभएको थाए भएपछि प्रयोग गरिएको १० मिटर सडकलाई पुःन निर्माण गर्ने भनि रेखाङ्कन गरि निर्माण कम्पनीका प्रतिनिधि आफै समस्याको कारण खोज्न लागे । समस्या पत्ता लाग्यो एक घण्टा पछि ।

अलकत्रा, गिट्टि र बालुवा रोलिङ्ग गर्ने अस्पाल प्लान्टको अलकत्रा र गिट्टि मिक्स गर्ने पाइप फुटेकाले समस्या भएको पत्ता लाग्यो । अस्पाल प्लान्टको पाइप मर्मत पछि निर्माण कम्पनीले कम गुणस्तरको निर्माण सामग्री भएको क्षेत्र रेखाङ्कन गरि अर्कोदिन काम गर्ने भनि अघि बढ्यो ।
सोही बेला अर्जुनधारा वडा नम्बर ८ का वडाध्यक्ष गोपिचन्द्र गौतमले काम गर्न छोडको क्षेत्र देखाई गुणस्तरहीन काम भएको भन्दै गलत प्रचार गरेको निर्माण कम्पनीले जनाएको छ । ‘कालोपत्रे बिच्छयाउन थालेको चौथो दिन एउटा गाडिमा १० तगारि कम गुणस्तरको सामग्री आयो,–‘मेसिनबाट काम भएकाले शुरुमा थाहा भएन सडकमा खसेपछि मात्रै थाहा पायौँ र तत्कालै सो निर्माण सामग्री हटाएर अर्को दिन पुनः काम गरेका थियौँ, निर्माण कम्पनीका एक प्रतिनिधिले भने । यसमा हाम्रो नियत भन्दा पनि अस्पाल मेसिनको प्राविधिक समस्याले भएको हो, उनले भने ।
के भन्यो अनुगमन टोलीले
सडकको गुणस्तरहीन भएको प्रचार भएपछि निर्माणको अनुगमन तथा परिक्षण गर्दै आएको जिल्ला प्राविधिक कार्यालय, जिल्ला प्रशासन, सडक डिभिजन र निर्माण कम्पनीका प्रतिनिधिको टोलीले सडकको २ दिन अघि अनुगमन गर्यो । सडकको अनुगमन गर्दा बुद्धशान्ति गाउँपालिका क्षेत्रको जयपुरमा सडकको दुबैपट्टि छेउमा स–सना दुला देखापर्यो । अनुगमन टोलीले सोही ठाउँ हेरेपछि स्थानीयलाई सोध्यो, यो के कारणले भयो ? स्थानीयको उत्तर थियो यहाँ हाट लाग्छ, हाट लागाउँदा व्यपारीले बाँस गाडेको डोभ हो ।

सो क्षेत्रबाट अनुगमन टोलि अघि बढ्यो । २५ सय मिटरको यात्रा पछि अनुगमन टोलीले सडकको छेउमा भत्किएको ठाउँ भेट्यो । के कारणले भत्किएको भनेर सोधियो ? एकजना स्थानीयबासीको उत्तर आयो बारी जोतेर निस्किएको ट्रयाक्टरले ब्रेक लगाउँदा भत्किएको । तत्कालै पत्रकारको टोलीले जिल्ला प्राविधिक कार्यालय झापाको इञ्जिनियर शुसिल श्रेष्ठलाई प्रश्न गरे, ट्रयाक्टरको ब्रेकले सडक भत्किन्छ त ? उत्तर आयो । कालोपत्रे गरेपछि पुर्ण रुपमा सेट हुन ९ महिना देखि १२ महिना लाग्छ, सडक आलै भएकाले ट्रयाक्टरको ठुलो चक्काले छेउको भाग भत्काएको हो । यस्तो समस्या बेलाबेला आउँछ । अनुगमन टोलीले सोही क्षेत्रको कालोपत्रे टिपेर परिक्षणका लागि इटहरि र केन्द्रिय प्रयोगशाला काठमाडौँमा परिक्षणका लागि पठाएको छ । परिक्षणको रिपोट आउन ७ दिन लाग्ने जिल्ला प्राविधिक कार्यालय झापाले जनाएको छ ।