इलाम । चिरपरिचित प्रतिद्धन्द्धी मनाङ मस्याङदी क्लबलाई पराजित गर्दै रुस्लान थ्रीस्टार क्लबले सिजनको पहिलो प्रतियोगिता चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चुमेको छ । निकै नै संर्घषपुर्ण बनेको खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै थ्रीस्टारले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि थपिएको समयको तेश्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै थ्रीस्टारले कर कट्टी गरेर नगद ५ लाख र ट्रफि पायो । मनाङले भने ३ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो । फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यामाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माईभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नविन लामा घोषित भए । खेल अवधिभर २÷२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर सेगुन , उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ट फरवाड थ्रीस्टारकै विदेशी खेलाडी अजय मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । त्यसैगरी उदयीमान खेलाडि आयोजक माईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे ।
गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो । माइभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।