इलाम । आयोजक माइभ्याली फूटबल क्लबले चौथो अन्तराष्ट्रिय माइभ्याली गोल्डकप फूटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । पाहुना टिम कास्कि ११ लाई ३–२ गोल अन्तरले पाखा लगाउँदै आयोजकले उद्घाटन खेलमा सुखद सुरुवात गरेको हो । आयोजकको जितमा मनिष थापाले २ र सुवास राईले एक गोल गरे । थापाले खेलको १९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५७ औं मिनेटमा सुवास राईले पेनेल्टि मार्फत दोस्रो गोल गर्दै टिमलाई जिततर्फ डोरयाए । आयोजकलाई सहज जित दिलाउन पुन मनिष थापाले ६४ औं मिनेटमा ब्यक्तिगत दोस्रो गर्दै टिमलाई सहज जित दिलाए ।
उता कास्किको तर्फबाट ६९ औ मिनेट फ्रि किक मार्फत उत्तम गुरुङ्गले गोल गर्दै गोल सङख्या छोटयाए । खेलमा फर्कन पटक पटक प्रयास गरेको कास्किको तर्फबाट ९० औं मिनेटमा रनदिप पौडेलले गोल गर्दै गोल सङख्या ३–२ मा पुरयाएपनि त्यसपछि दुबै टिमबाट गोल हुन नसक्दा आयोजकले उद्घाटन खेलबाटै सुखद सुरुवात गरेको हो । अब आयोजकले दोस्रो चरणमा मनाङ मरस्याङदिको सामना गर्नेछ । प्रतियोगितामा शुक्रबार बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र बंगलादेशको कावारान प्रगती संघबीच प्रतिष्पर्धा हुनेछ ।
बिहीबारको खेलको आयोजक टिमका छिरिङ गुरुङ् म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार रुपैंयाँ प्राप्त गरे । माइभ्याली फूटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाईनल खेल आउँदो बैशाख १७ गते हुनेछ । प्रतियेगिताको बिजेताले नगद पाँचलाख र उपबिजेताले नगद तीनलाख रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उद्घाटन खेल माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गको अध्यक्षता तथा प्रदेश सभा सदस्य रामबहादुर राना मगरको प्रमुख आतिथ्यमा भएको थियो ।