काठमाडौं । लामो समयको अलमलपछि एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् । छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुग्दैछन् ।
प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आइतबार बिहान हुने भनिएको एमाले माओवादी वार्ता हुन सकेको थिएन ।
एक रात सुकुटेमा आराम गरेका प्रचण्ड सोमबार बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जान लागेका हुन् । त्यसअघि ओली प्रचण्डबीच फोन वार्ता भएको स्रोतले बतायो ।
एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । तर, केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी छ । ओली भारत भ्रमणबाट फर्किएलगत्तै प्राविधिक कुरा मिलाउन एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ ।