इलाम । पूर्वी पहाडी जिल्लामा जोड्ने विद्युत प्रशारण लाइनको स्तरउन्नती शुरु भएको छ । दूई साता अघि इलाम आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इलाममा हुदै आएको लोडसेडिङ अन्त्यका गर्न इलामबासीले माग गरेपछि विद्युत प्राधिकरणले प्रशारण लाइन स्तरउन्नतीको काम शुरु गरेको हो । झापाको विर्तामोड देखि ताप्लेजुङ्गको तोक्मेडाँडा जोड्ने ३३ केभि विद्युत प्रशारण लाइनको स्तरउन्नती शुरु भएको हो ।
पूर्वी नेपालको पहाडी जिल्लामा विद्युत विस्तार गर्दै आएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले पहिलो चरणमा १० किलोमिटर क्षेत्रको प्रशारण लाइन स्तरउन्नती गर्दै आएको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई केन्द्रिय विद्युत प्रणालीमा जोड्ने ३३ केभि प्रशारण लाइनको तार परिवर्तन गरिएको हो ।
विद्युत प्राधिकरणले पहिलो चरणमा इलामको सूर्योदय नगरपालिका क्षेत्रमा पर्ने १० किलोमिटर क्षेत्रको विद्युतिय तार परिर्वतन गरिँदै आएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्राविधिक तारा एक्तेनले बताउनुभयो ।
३३ केभि प्रशारण लाइनमा रहेको ‘ओ फाइब’ को तार परिवर्तन गरि मोटो तार ‘डग वेयर’ जडान गरिँदै आएको छ । केन्द्रिय प्रशारण लाइनमा ‘डग वेयर’ तार जडान गरेपनि विद्युतको चुवाहट कम हुने र बेलाबेला हुँदै आएको लोडसेडिङ पनि अन्त्य हुने विद्युत प्राविधिकले बताएका छन् ।
सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि हर्कटे बजारसम्मको क्षेत्रको विद्युतिय तार स्तरउन्नतीको काम सक्न दुई साता लाग्ने नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो ।
२५ लाखको लागतमा शुरु भएको प्रशारण लाइन स्तरउन्नतीको कामका लागि बजेट अभाव हुन नदिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिवद्धता पनि जनाएको घिमिरेले जानकारी दिनुभयो ।