पाँचथर । हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्षको मुत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ परेका छन् ।
गएको चैत ११ गते हिलिहाङ गाउपालिका–७ को सिम्वेवा मोटरबाटो अनुगमनको क्रममा वडाध्यक्ष तिम्सिनालाई कुटपिट गरेको आरोप लागेका बाबु भीम योक्पाङदेन र छोरा सुवास योक्पाङदेनलाई पाँचथर प्रहरीले शनिबार पक्राउ गरेको हो ।
सुगर र उच्च रक्तचापका बिरामी रहेका ६४ वर्षीय तिम्सिना बाबुछोराको कुटपिटपछि शारीरिक र मानसिक रुपले कमजोर भएपछि उपचारको लागि लाँदै गर्दा शुक्रबार साँझ इलामको नेपालटार पुर्याउँदा बाटोमै निधन भएको थियो । बाबुछोराले हातपात गरेपछि तिम्सिनाले चैत्र १५ गते स्काभेटर लगाएर सडक निर्माण गर्दा योक्पाङदेनको घरमा लगेको बिजुलीको तार चुँडिएको विषयलाई लिएर आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएको प्रहरी प्रमुख डीएसपी बामदेव गौतमले वताउनुभयो ।
तिम्सिनाको मुत्युपछि उहाँकी धर्मपत्नीले शनिबार नै कुटपिटमा संलग्न भनिएका बाबुछोराविरुद्ध कर्तव्य ज्यानको मुद्धा दर्ता गराउनुभएको थियो । तिम्सिनाको मुत्यु कुटपिटकै कारण भएको हो वा होइन् त्यो भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरी प्रवक्ता विज्ञान बस्नेतले वताउनुभयो ।
एकचेपाली साँइला नामले साहित्यमा परिचित तिम्सिना लामो समय शिक्षण पेशामा रहेर अवकाशपछि नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वा्चित हुनुभएको थियो । यस्तै हिलिहाङ गाउँपालिकाले मोटरबाटो अनुगमनको क्रममा तिम्सिनामाथि भएको कुटपिटकै कारण निधन भएको भन्दै निष्पक्ष छानविन गर्न प्रशासनसँग आग्रह गरेको छ ।