इलाम । इलाम नगरपालिकाले बढी बच्चा जन्माउने महिलालाई बढी सुत्केरी भत्ता दिनेबारे गरेको निर्णयको महिलाहरूले विरोध गरेका छन्। महिलाहरूले पुरुष नगर प्रमुख भएकाले यस्तो निर्णय आएको भन्दै विरोध गरेका हुन्।
नेपाल महिला संघ इलामले मंगलबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाको उक्त निर्णयको विरोध गरेका हुन्। इलाम नगरपालिकाले नगरभित्र दोस्रो बच्चा जन्माउने महिलालाई दुई हजार रुपैयाँ, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई तीन हजार रुपैयाँ, चौथो बच्चा जन्माउने महिलालाई चार हजार रुपैयाँ र पाँच वा सोभन्दा बढी बच्चा जन्माउने महिलालाई पाँच हजार रुपैयाँ नगद पोषण भत्तास्वरुप दिने निर्णय गरेको थियो।
महिला संघ इलामकी अध्यक्ष निर्मला सञ्जेलले महिलाहरूलाई अपमानित गरेर उक्त निर्णय भएको बताइन्। उनले भनिन्, ‘महिलालाई बच्चा जन्माउने मेसिन मात्र नसम्झन हामी नगरपालिकालाई चेतावनी दिर्छौँ।’ उक्त निर्णयले गरिबलाई अझ गरिब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने उनको तर्क छ।
मेयर पुरुष भएकाले यस्तो निर्णय भएको आएको भन्दै महिलाहरूलाई होच्याउने कार्य भएको महिला संघको ठहर छ। नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ शिक्षा, व्यवस्थित बसोबास लगायतमा नगरपालिकाले ध्यान दिनुको सट्टा बढी बच्चा जन्माउने महिलालाई भत्ता दिने निर्णय हुनु लज्जास्पद भएको महिला संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
महिला संघले नगरपालिकाले उक्त निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ।