सन्दकपुर । रामनवमीको अवसरमा आयोजना गरिएको ‘ढापपोखरी महोत्सव’ सम्पन्न भएको छ । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा रामनवमीको अवसर पारेर शनिवारबाट सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको हो ।
‘रामनवमीमा ढापपोखरी जाउँ, आन्तरिक पर्यटन प्रर्वधनमा सहयोग पुरयाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा विविध जातीय संस्कृति सहित राष्ट्रिय स्तरका कलाकार कुवेर राई, गणेश पराजुली, पुजन प्रधान, युगल क्षेत्री लगायतले प्रस्तुती दिएका थिए ।
महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडिबिुटीहरु,स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरु समेत राखिएको थियो । महोत्सवमा ढापपोखरीमा डुंगा सयर, हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपान्डाको अवलोकन गर्न पाइने व्यवस्था समेत मिलाईएको थियो ।
महोत्सव आयोजक समितिका अध्यक्ष युवराज भट्टराईले महोत्सवमा जिल्लाका विभिन्न स्थानका साथै झापा, मोरङ्ग, सुनसरि लगायत छिमेकी देश भारत दाजिलिङबाट समेत पर्यटकहरु महोत्सवको अवलोकन गर्न आएको बताए ।
महोत्सवमा पर्यटकहरुले सबै भन्दा बढी ढापपोखरी मा डुंगा सयर गरेर आन्नद लिएको अध्यक्ष भट्टराईले बताए।
२०७२ बैशाखदेखि ढापपोखरी विस्तार र संरक्षणमा स्थानीयको निरन्तरको प्रयास जारी छ । गएको कार्तिक देखी डुङ्गासमेत सञ्चालन गरिएको छ । पर्यटनको अथाहा संभावना भएको सन्दकपुर गाउँपालिकामा माइपोखरी, सन्दकपुर, ढापपोखरी, छिन्टापु, टोड्के झरना, मावुथाम, चोयाटार, हाँगेथाम, जौवारी, कालपोखरी लगायतका स्थानसहित दुर्लभ रेडपाण्डा र अनेकन जंगली जनवार, पशुपंक्षीको बासस्थान छ ।
यो क्षेत्र जैविक विविधता, धार्मिक र सांस्कृतिक हिसावले पनि महत्वपूर्ण रहेकाले यस प्रकारका प्रर्वधनात्मक कार्यक्रम र पूर्वाधार विकासमा जोड दिनु पर्ने सरोकारवालको भनाई छ । महोत्सब पछि सो क्षेत्रमा जाने सडकको स्तर उन्नती गर्न स्थानीय सरकार लागि पर्ने अपेक्षा लिइएको छ । स्थानीय स्तरमा उत्पादित वस्तुको प्रचार र बिक्री सहित महोत्सवले सो क्षेत्रको विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।