इलाम । अनेरास्ववियु इलाम जिल्ला कमिटीका सदस्य मानबहादुर गुरुङलाई जिल्ला पदाधिकारी बैठकले अनिश्चितकालिन निलम्बन गरेको छ ।
गुरुङको नाममा विगत लामो समयदेखि उजुरीहरु आएको तथा पटक–पटक सचेत गर्दा पनि आचरण नसुधारेको भन्दै पदाधिकारी बैठकमा छलफल गरी गुरुङलाई निलम्बन गरिएको जनाइएको छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसका विविध गतिविधिमा संलग्न भई आर्थिकरुपमा चरम अपारदर्शी बनेको, संगठनको गोपनियताको नियमलाई अटेर गरेको, संगठनको एकता र हार्दिकता बिगार्ने कार्यमा क्रियाशील भएको, संगठनको नीति, नियम र पद्धति विपरित कार्यमा संलग्न रहेकोलगायतका आरोप उनीमाथि छन् ।
उनलाई आजको मितिले संगठनको कुनै कार्यमा सहभागी हुन नपाउने गरी पदाधिकारी बैठकले निलम्बन गरेको अनेरास्ववियु इलामका सहसचिव एवम क्यापस इञ्चार्ज मिलन खत्रीले जानकारी दिए ।
साथै आगामी दिनमा संगठनको पद्धति, नीति, नियम, निर्देशन, एकता र हार्दिकतालाई सौहाद्र्रपूर्ण वातावरणमा अघि बढाउनसमेत मातहत सबै कमिटीलाई निर्देशन गरिएको अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङले बताएका छन् ।