Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमीफाइनलमा

पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमीफाइनलमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन २४ २०७४


पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमीफाइनलमा

बिर्तामोड। जर्ज प्रिन्स कार्कीको गोलमा नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।हारसंगै पुलिसले आर्मीसंग हारको बदला लिने अबसर गुमाएको छ । यसअघि गत फाल्गुन १२ गते सम्पन्न तेश्रो हेटौडा गोल्डकप फुटबलको उपाधीका लागी यि दुई टोलीबिच भेट भएको थियो । पुलिसमाथी ट्राइवेकरमा ४–३ को जित निकाल्दै आर्मीले उपाधी जितेको थियो ।

बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा बुधबार भएको क्वार्टरफाइनलमा जर्ज प्रिन्सले ४३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

पुलिसका रक्षक अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई पेनाल्टी बक्स नजिकै फाउल हानेपछि प्राप्त फ्रिकिकमा जर्ज प्रिन्सले गोल गरेका थिए । अन्तिम चारको प्रतिस्पर्धामा आर्मी ले साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको सामना गर्नेछ । खेल अवधिभर पुलीसले आर्मीलाई दबावमा राखेको थियो । यद्यपी आक्रमण फितलो बन्दा पुलिसले गोलको खाता खोल्न सकेन ।

खेलको १४ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले गरेको हेड पुलिसका गोलकिपर शत्रुघन चौधरीले पञ्च गरेर फर्काए । त्यस्तै खेलको १८औँ मिनेटमा पुलिसका दिनेश राजवंशीले प्mिलक गरेको बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथूले सजिलै रोके । २७औँ मिनेटमा आर्मीका निरकुमार राईले प्रहार पोष्टको केही माथिबाट बाहिरिएको थियो ।

३०औँ मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरिएको थियो । ५९औँ मिनेटमा पुलिसले पेनाल्टी बक्स बाहिरिबाट पाएको फ्रिकिक आर्मीका रक्षकले गोललाइनबाट बचाएका थिए । ६५औँ मिनेटमा आर्मीका भरत पासमा जर्ज प्रिन्सले हेड गरेको बल पुलिसका गोलकिपर शत्रुघनले रोके । ८२औँ मिनेटमा पुलिसका अजित भण्डारीले गरेको हेड बल विकेशले जोगाए ।

लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो । खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो ।म्यान अफ द म्याच आर्मीका जर्ज प्रिन्सले २५ हजार रुपैंयाँ प्राप्त गरे । पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए । ‘खेलमा जित निकाल्नु महत्वपुर्ण हुन्छ’, उनले भने, ‘पुलिससँगको जित हाम्रो लागि सहज हो । ‘ पुलिसका प्रशिक्षक अनन्त थापाले नयाँ टोली बनाउदै गएको हुनाले आजको प्रदर्शनमा अनुभवको कमी देखिएको बताए । खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको उनको भनाइ थियो ।

यसैबीच, गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रलियाका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार प्रायोजन गरिने भएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले छ लाख पाउनेछ ।

झापा गोल्ड कपमा शुक्रबारको खेल : रमपम झापा ११ विरुद्ध थ्री स्टार क्लब

प्रतिक्रिया
सम्बन्धित समाचार