काठमाडौं । राष्ट्रपतिमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा स्थापित राष्ट्रपति निर्वाचनको कार्यालयमा पुगेर भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनको समर्थनमा एमाले र माओवादी केन्द्रका नेताहरू रहेका छन्। भण्डारीको प्रस्तावकमा माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, ओनसरी घर्ती र भीम रावल रहेका छन् भने समर्थकमा रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी र गोकर्ण विष्ट रहेको एमालेका सचिव प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
राष्ट्रपति भण्डारीलाई नेकपा एमालेको स्थायी कमिटीको बैठकले मंगलबार राति राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार माओवादी र एमालेको समर्थनमा भण्डारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।
राष्ट्रपतिमा कांग्रेसबाट राईको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसबाट राष्ट्रपतिमा कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गरेकी छन्। राईले दिउँसो १२ बजेर २० मिनेट जाँदा संघीय संसदमा स्थापना गरेको निर्वाचन कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएकी हुन्।
राईको प्रस्तावकमा नेपाली कांग्रेसका नेताहरू रहेका छन्। चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वता डीसी चौधरी, देवेन्द्र कँडेल, सुरेन्द्रराज पाण्डेले राष्ट्रपतिमा राईको प्रस्तावक रहेका छन्।
राईलाई सरिता प्रसाईँ, सुजाता परियार, राधा घले, शिवचन्द्र चौधरी, मेखलाल श्रेष्ठले समर्थन गरेका छन्। यसअघि राईले साढे १ बजे दर्ता गर्ने बताइएको थियो। राष्ट्रपतिको निर्वाचन फागुन २९ गतेका लागि तय भएको छ।