करफोक। करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगिताको तेश्रो खेलमा बिजयी बन्दै मेचीनगर नगरपालिका क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा भद्रपुर नगरपालिकालाई ट्राइवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मेचीनगरले क्वाटर यात्रा तय गरेको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ६७ औ मिनेटमा अजय राजवंशीले मेचीनगरलाई अग्रता दिलाएका थिए । भद्रपुरका गोलरक्षक दिपांशु राउत अगाडी बढेको मौका छोपि बिट गर्दै अजयले गोल गरेका थिए । खेलको अन्तिम मिनेटमा मेचीनगरका खेलाडीले डि एरियाभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भद्रपुरका मिलन राईले खेल बराबरीमा ल्याए । त्यसपछि थपिएको समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय ट्राइवेकरबाट लिइएको थियो ।
ट्राइवेकरमा मेचीनगरका एन्जल गुरुङ, मुन्ना सुब्बा, रन्जित लिम्बु र अजय राजवंशीले गोल गरे भने सन्जु तामाङको प्रहार भद्रपुरका गोलरक्षक दिपांशुले रोकेका थिए । भद्रपुरका कप्तान विकास राई, विशाल गुरुङ र राम मर्डिको प्रहारले मात्र पोष्टको दिशा लियो । रेजिन सुव्वा र मिलन राईको प्रहार बाहिरिएको थियो ।
प्रतियोगिता अन्र्तगत मंगलबार फिदिम नगरपालिका र विर्तामोड नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।