Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एन्फा केन्द्रिय सदस्यमा इलामका खड्गी र भक्तराजको उम्मेदवारी

एन्फा केन्द्रिय सदस्यमा इलामका खड्गी र भक्तराजको उम्मेदवारी

  • नमीन ढकाल
  • शुक्रबार, फाल्गुन १८ २०७४


एन्फा केन्द्रिय सदस्यमा इलामका खड्गी र भक्तराजको उम्मेदवारी

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत्र १४ गते हुने निर्वाचनमा केन्द्रिय सदस्य पदका लागी इलामका निरोज खडगी र सन्तोष भक्तराजले उम्मेदवारी दर्ता गराएका छन । खडगीले गत माघ २९ गते र भक्तराजले फाल्गनु ४ गते एन्फा कम्प्लेक्स सातादोबाटो ललितपुरमा केन्द्रिय सदस्य पदका लागी उम्मेदवारी दर्ता गराएका हुन । चैत १४ गते हुने एन्फाको निर्वाचनमा अध्यक्ष पदका लागि उपाध्यक्ष कर्माछिरिङ  शेर्पा र वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुनेछ। दुवै समूहबाट ११ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। निर्वाचनमा ७७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

को हुन खडगी ?
इलाम नगरपालिका–७ निवासी खडगीे धनुषा जिल्ला फुटबल संघका अध्यक्ष दिपक खातीको प्रस्ताब र प्लानिङ्ग व्वाइज युनाइटेडका अध्यक्ष दावा लामाको समर्थनमा केन्द्रिय सदस्यको उम्मेदवार बनेका हुन । उनी जिल्ला फुटबल संघ इलामको निर्वतमान अध्यक्ष समेत हुन । गत माघ ४ गते भएको जिल्ला फुटबल संघ इलामको अधिवेशनबाट उनी पुनः कार्य समितीमा समेत अटाए ।

२०४६ सालमा ४ फुट ८ इन्चको जुनियर फुटबल प्रतियोगिताबाट फुटबल क्षेत्रमा छिरेका खडगी देविदास स्मृती अन्तर विद्यालय फुटबल हुँदै २०५५ सालमा पुर्वाञ्चल स्तरिय क्षेत्रिय प्रतियोगितामा इलाम टिमका स्ट्राइकर समेत भएर खेलेका थिए । उनले २०५२ देखी २०५४ सम्म आयोजना भएको भुकम्पपिडित स्मृती फुटबल प्रतियोगिता ( हाल माइभ्याली गोल्डकपमा रुपान्तरित) को ३ संस्करण खेले । त्यसपछि उनले क्षेत्रिय स्तरका दर्जनौ फुटबल प्रतियोगितामा सहभागी जनाए ।

२०६० सालबाट जिल्ला फुटबल संघको सदस्य भएका उनी त्यसपछि महासचिवमा चुनिए । २०७० सालमा फुटबल संघको अध्यक्ष भए । उनको कार्यकालमा १७ बर्षदेखी हुन नसकेको माइभ्याली गोल्डकप प्रतियोगिता पुन संचालन भइ २०७५ बैशाख ६ गतेबाट चौथो संस्करण संचालन हुँदैछ ।

त्यसैगरी राष्ट्रिय स्तरका महिला फुटबल टिमलाई इलाममा उतारेर उनकै कार्यकालमा प्रथम लुम्बिनी महिला फुटबल २०७१ संम्पन्न भयो । २०७४ माघ ४ गते भएको जिल्ला फुटबल संघको १२ औ अधिवेशनबाट महेश श्रेष्ठ नेतृत्वको टिममा पुनः सदस्यमा निर्वाचित भए ।

को हुन भक्तराज ?
इलाम नगरपालिका–७ का स्थायी बासिन्दा सन्तोष भक्तराज क्षेत्रिय स्तरका फुटबल खेलाडी हुन । चैत्र १४ गते हुने एन्फाको निर्वाचनको लागी उनी जिल्ला फुटबल संघ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दको प्रस्ताव र बारा फुटबल संघका अध्यक्ष मोहम्मद समिउल्लाहको सर्मथनमा केन्द्रिय सदस्यका उम्मेदवार बनेका हुन ।

१० बर्षको उमेरबाट फुटबल खेलमा लागेको सन्तोष २०४८ सालबाट २०५४ सालसम्म क्षेत्रिय स्तरका विभिन्न फुटबल प्रतियोगितामा इलाम टिमबाट सहभागीता जनाए । २०५७ सालबाट राजकुमार भक्तराज नेतृत्वको जिल्ला फुटबल संघ इलामको सदस्य हुँदै उनी २०५८ सालमा फुटबल संघको पुर्नगठन हुँदा सहसचिवमा निर्वाचित भए ।

२०५९ सालमा तत्कालिन सचिव महेश श्रेष्ठको अनुपस्थितीमा २०६२ सालसम्म कार्यवाहक सचिवको समेत जिम्मेवारी पाए । २०६२ सालदेखी ६६ सालसम्म उनले जिल्ला फुटबल संघ इलामको महासचिवको पद सम्हाले । २०६६ सालदेखी ७० सालसम्म जिल्ला फुटबल संघ इलामको नेतृत्व सम्हाल्दै पुन २०७० सालदेखी २०७४ सालसम्म फुटबल संघको सदस्य बनेर इलामको फुटबलमा योगदान दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार