काठमाडौं । फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपूर्णिमा। वसन्त उत्सवका रूपमा एकआपसमा रंग दलेर मनाइँदैछ। बिहीवार बिहान ८ः१९ सम्म चतुर्दशी तिथि र त्यसपछि पूर्णिमा लाग्ने पात्रोमा उल्लेख छ। वसन्त उत्सवकै एक रूपमा होली वा फागुपर्व मनाउने परम्परा रहेको संस्कृतिविद् प्रियंवदा काफ्ले बताउँछिन्।
होलीमा रातो, पहेँलो, हरियो र नीलोलगायत रंग प्रयोग हुन्छ। होली खेल्न प्रयोग हुने रंगहरू विभिन्न किसिमका रासायनिक पदार्थबाट बन्ने भएकाले प्रयोगमा सावधानी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन्। पहिले–पहिले होली खेल्न फूल, पात र विभिन्न जडिबुटीबाट रंग तयार गरिने चलन रहेको काफ्लेको भनाइ छ।
रक्तचन्दनबाट रातो, बेसारबाट पहेँलो र दुवोबाट हरियोलगायत रंग बनाइन्थ्यो’, उनी भन्छिन्, ‘यस्ता प्राकृतिक रंगले मानव स्वास्थ्यमा केही असर पुर्याउँदैनथ्यो। पुराणवाचक पं बालमुकुन्द देवकोटाका अनुसार हिन्दु सनातन समाजमा हरेक वर्ष फाल्गुण शुक्ल अष्टमीमा होली आरम्भ हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सार्वजनिक ठाउँमा ठड्याइन्छ।
अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ पनि भनिन्छ। ठाउँअनुसार होली, फागु, होरी र होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ। काठमाडौंमा शुभसाइतमा जंगलबाट काटेर ल्याइएको रुख तासेर ध्वजा पताकाले सिंगारी वसन्तपुरमा ‘चीरोत्थान’ गरिन्छ। पूर्णिमाको मध्यरातमा होलिकास्वरूपको चीर दहन गरेपछि त्यसैबाट उत्पन्न रंग पानीमा घोली होली खेल्ने चलन रहेको पं देवकोटा बताउँछन्।
होलीको रौनक भारतमा विशेष हुन्छ। नेपालमा पनि पहाडी भेगमा भन्दा तराईमा फागुको रौनक बढी हुन्छ। रंग दल्ने र पानी छ्याप्ने यो पर्वको मुख्य आकर्षण हो। तराई मधेशमा फागुसम्बन्धी लोकगीतको रौनक हुन्छ। यस्तै होलीमा बनाइने विभिन्न स्थानीय परिकारले पनि यो पर्वको महत्त्व बढाएको हुन्छ। पुराणमा हिरण्यकशिपुकी बहिनी होलिका दहन भएको खुशीयालीमा होली खेल्ने चलेको बताइन्छ। यस्तै भगवान् कृष्णले गोपिनीसँग होली खेलेको सन्दर्भ आउने पं देवकोटा बताउँछन्।
सरकार भन्छ झापामा होली बिहीबार, स्थानीय भन्छन् शुक्रबार
सरकारले प्रदेश १ अन्तर्गतको झापा जिल्लालाई पहाडसँगै होलीको सार्वजनिक बिदा दिएपछि यहाँका नागरिक अन्यौलमा परेका छन्। यहाँका नागरिक होली बिहीबार कि शुक्रबार भन्दै अन्यौलमा परेका हुन्। नेपालको भूगोलमा झापासहित २० जिल्ला तराई पर्छन्। तर, सरकारले गत वर्षदेखि झापालाई तराईबाट अलग बनाएर पहाडी होलीको दिन सार्वजनिक बिदा दिन थालेको छ। यसअनुसार यहाँ बिहीवार सार्वजनिक पर्दछ।
बिहीबार सरकारी निकाय बन्द हुने भए पनि झापावासी नागरिक शुक्रबार होली खेल्ने तयारीमा रहेका छन् । झापाका भद्रपुर, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमकलगायतको मुख्य सहरमा शुक्रबार मात्र होली मनाउने स्थानीयवासी बताउँछन्।
‘झापालाई पहाडसँग दाजेर सरकारले गरेको यस्तो निर्णय हामी मान्दैनौं,’ स्थानीय सञ्जिव पौडेलले भने, ‘तराईवासी हामी शुक्रबार नै होली खेल्छौं।’ झापासहित तराईका २० जिल्लामा एकै साथ होली मनाउँदै आएको र एकै दिन सार्वजनिक बिदा हुँदै आएको थियो। तर, सरकारले गत वर्षदेखि झापामा पहाडी होलीको दिन नै सार्वजनिक बिदा दिन थालेको छ। यस वर्ष पनि बिहीबार नै सार्वजनिक बिदा दिइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले पहाडी जिल्लासँगै झापामा पनि होलीको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले गरेको निर्णयलाई गत वर्षदेखि नेपाल राजपत्रमा उल्लेख गर्दै झापा जिल्लालाई पहाडसँग दाजेर होली पर्वको बिदा दिँदै आएको छ।
राजवंशी समुदायको आपत्ति
सरकारले होलीपर्व (डोल पावनी) को अवसरमा पहाडसँगै सार्वजनिक बिदा दिएका राजवंशी समाज विकास समिति झापाले आपत्ति जनाएको छ। झापामा बसोबास गर्दै आएका आदिवासी समुदाय राजवंशीले पहाडमा मनाइने होली पर्वको भोलिपल्ट झापामा होली मनाउने परम्परा रहेपनि सरकारले हचुवाको भरमा पहाडसँगै सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएको हो।
सरकारले उक्त निर्णय नसच्चाए कडा आन्दोलनमा उत्रिने समितिका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले चेतावनी दिए। समितिले गत वर्ष नै होलीको बिदा सच्याउन सरकारलाई प्रशासन कार्यालय झापा मार्फत ज्ञापनपत्र बुझाएको थियो।
( थाहाखबरबाट)