इलाम । चिया बिक्री नहुनेदेखि विभिन्न झन्झट बेहोर्दै आएका पूर्वका साना चिया उद्योगलाई लक्ष्य गरेर झापाको चारआलीमा चियाको गुणस्तर कायम गर्ने चिया भण्डार निर्माण थालिएको छ ।
चार महिनामा काम सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको भण्डारमा अत्याधुनिक चिया सर्टिङ मेसिनसहितका उपकरणसमेत जडान गरिने स्टन नेपाल टी प्रोसेसिङ प्रालिका प्रमुख राजु सेर्माले जानकारी दिए ।
चार करोड ८० लाख रुपैयाँ लगतमा निर्माण हुने भण्डारमा अत्याधुनिक कलर सटर मेसिनसहितका सामग्री रहने उनले बताए। यो मेसिनले चियाको रङअनुसार चिया छनोट गर्छ । गुणस्तर र माग आपूर्तिको समस्या समाधानका लागि भण्डार स्थापना गरिएको उनको भनाइ छ ।
कारखानामा उत्पादन भएको चिया भण्डारमा र्पुयाएर ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने योजना रहेको सेर्माले बताए। साना कारखाना एक्लैले रङअनुसारको चिया छनोट गर्नेलगायत सामग्री खरिद गर्न नसक्ने भएकाले पनि यो भण्डार सबै कारखानाका लागि सहयोगी बन्ने उनको भनाइ छ ।
इस्टर्न नेपाल टी प्रोसेसिङ प्रालिले निर्माण गरिरहेको कारखानामा साना कारखानाले सेयर खरिद गर्न पाउने व्यवस्था रहेको सेर्माले बताए। ‘भारतलगायत देशका कतिपय कर र व्यवस्थाको बोझलाई संगठित रूपमा समाधान गर्न पनि यो भण्डार उपयोगी हुन सक्छ’, उनले भने । भण्डारमा साउन भदौबाट भण्डारसहित गुणस्तर नियन्त्रणको काम सुरु हुनेछ ।
इलाममा ४० भन्दा बढी साना चिया उद्योग रहेको स्पेसालिटी टी एसोसिएसन अफ नेपालले जानकारी दिएको छ । एउटै द्वारबाट चिया बिक्री गर्न भण्डार उपयोगी हुने सूर्योदय नगरपालिका नयाँ चोकका चिया कारखना सञ्चालक ज्ञानु सुब्बा बताउँछन् । भारतको केन्द्रीय खाद्य प्रयोगशालाले नेपाली चियाको परीक्षण शुल्कमा वृद्धि गर्नुका साथै परीक्षणअघि कुन व्यापारीलाई बिक्री गर्नुपर्नेसमेत व्यवस्था गरेपछि साना उद्यमीले सीधै भारत चिया बेच्न सकेका छैनन् । भण्डारले सबै चियाको बिक्रीका लागि समेत पहल गर्ने योजना बनाएको छ।
इलाममा एक करोडसम्म लगानी गरेर किसानले साना चिया उद्योग स्थापना गरेका छन् । दैनिक दुई हजार किलो हरियो चिया प्रशोधन गर्ने कारखाना स्थापना गर्न एक करोड खर्च आउने कृष्णगोपाल चिया कारखानाका सञ्चालक गोपाल कट्टेल बताउँछन् । भण्डारमा यस वर्षको मध्यसिजन अथवा साउन–भदौबाट भण्डारसहित गुणस्तर नियन्त्रणको काम सुरु हुने शेर्माले जानकारी दिए ।