Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अार्थिक उपार्जन माध्यम बन्दै ललिपप उद्याेग

अार्थिक उपार्जन माध्यम बन्दै ललिपप उद्याेग

  • नमीन ढकाल
  • मंगलबार, फाल्गुन ८ २०७४


अार्थिक उपार्जन माध्यम बन्दै ललिपप उद्याेग

फिक्कल । इलाम जिल्लाका विभिन्न स्थानमा ललिपप उद्योग थपिने क्रम बढदै गएको छ । उद्योगहरुको संख्या थपिएसंगै महिलाहरुलाइै रोजगारीको अवसर समेत सृजना भएको छ । ललिपप बनाउन महिलाहरु सिपालु हुने भएकाले उनीहरुले रोजगारी पाएको कोशेली ललिपप उद्योगका संचालक शिवलाल प्रधानले बताए ।

दूधबाट बनिने ललिपपको बजार देशका विभिन्न ठाउँ र विदेशमा समेत विस्तार हुँदै गएपछि नयाँ उद्योग सञ्चालनमा आउने क्रम बढेको हो । गाउँगाउँमा खुलेका ललिपप उद्योगले दूध उत्पादक कृषकलाई दूध वेच्न टाढा लैजानु पर्ने झन्झटबाट समेत मुक्त गरिरिएको छ । इलाम नगरपालिका–७ मा संचालित इलामेली ललिपप उद्योगका संचालक टेकबहादुर राई आफु बाहेक अन्य २४ जनाले रोजगारी दिएका छन । उनको उद्योगमा दैनिक ५० केजीसम्म मिठाइ उत्पादन हुन्छ ।

इलाममा संचालनमा आएका धेरै जसो दुग्द्यजन्य उद्योगमा महिलाले रोजगारी पाएका छन । ललिपप, पुष्टकारी, खुवा, बम्वइसन, पनिर जस्ता दुग्द्यजन्य पर्दाथ उत्पादन गर्ने उद्योगमा विहानको घरधन्दा सकेर महिलाहरु दिउसो काम गर्दै आएका छन । गाइको दुधलाई फटाएर बनाइने दुग्द्यजन्य सामाग्री बनाउन महिलाहरु नै सिपालु भएकाले पुराना डेरी उद्योगको सिको गर्दै नयाँ उद्योगले पनि महिलाहरुलाई तालिम दिएर काम लगाँउदै आएको हिमालयन चीज एसोसिएसनका उपाध्यक्ष तुलु तामाङले बताए ।

संचालनमा आएका धेरै जसो उद्योगमा ३ जना देखी १५ जनासम्म महिलाहरुले रोजगारी पाएका छन । इलामको फिक्कल–पशुपतीनगर सडक छेउमा संचालनमा आएका उद्योगमा अधिकाँश महिलाले काम गर्दै आएका छन । विहानको घरधन्दा सकेर फर्सदको समयमा ललिपप, छुर्पी उद्योगमा काम गर्ने गरेको सुर्योदय नगरपालिका–२ मा कोसेली ललिपप उद्योगका संचालक शिबलाल प्रधान बताउँछन । ललिपप उद्योगमा काम गर्ने महिलाहरुले मासिक १५ हजारसम्म कमाउने गरेका छन ।

इलाम आउने स्वेदशी तथा विदेशी पर्यटकहरुको रोजाइमा इलामको कोसेली ललिपप र बम्बइसन हुने भएकाले पनि यस्ता उद्योगहरु बढी जसो खुल्ने गरेको हुन । स्थानिय दिपा गुरुङ भन्छिन ‘बलको काम नपर्ने र आम्दानी पनि राम्रो भएकाले पनि नियमित जसो काममा आउने गरेको छु ।’ बसीबसी काम गरेर छोराछोरी पढाउन सहज भएको उनले बताइन ।

त्यसैगरी कोसेली ललिपप उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् । सहकारिताको माध्यमबाट स्थापना भएको पञ्चकन्याको उद्योगले दुई दर्जन महिलालाई रोजगारी दिएको छ । सुर्योदय नगरपालिकामा संचालित जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ जना महिलालाई रोजगारी प्रदान गरेको छ । इलाममा संचालित दुग्द्यजन्य उद्योगले दैनिक ५० लिटर देखी १ हजार लिटरसम्म दुध प्रशोधन गर्दै आएका छन । इलाम नगरपालिका–६ चुरेघाटीमा सञ्चालित इलाम ललिपप उद्योगमा दैनिक ३ सय लिटर दूध प्रशोधन गर्ने गरेको सञ्चालक दुर्गाकुमारी राई बताउछिन ।

यसरी गाउँमै उत्पादन भएका दूग्धजन्य बस्तुले राम्रोे बजार पाइरहेका छन् । त्यहाँ घुम्न जाने पर्यटकका लागि यो उत्कृष्ट कोसेली हुने गरेको छ । सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य ५० रुपैयाँ र ठुलो १ सय रुपैयाँमा बिक्री हँुदै आएको छ । यस्तै स्थानीय व्यापारीमार्फत थोक मूल्यमा बिक्री गर्दा ५ रुपैयाँसम्म प्रती प्याकेट कम पर्ने गर्छ ।

दूध उत्पादनमा अग्रणी इलाममा दूधबाट बनाइने परिकारका उद्योग स्थापना गरेर आम्दानी बढाउने क्रम बढ्दै गएको छ । ललिपप उद्योग सञ्चालनमा आएपछि यसमा काम गर्ने कामदारले दैनिक ३ सय रुपैयाँसम्म पाउने गरेको कोशेली ललिपप उद्योगका संचालक शिवकुमार प्रधान बताउँछन । कम लगानी र मेहनतमा ललिपप र चिज उत्पादन गर्न सकिने भएकाले पनि यो व्यवसायमा आर्कषण बढेको इलामेली ललिपप उद्योगका संचालक टेकबहादुर राई बताउँछन ।

उत्पादित स्थानीयस्तरमै खपत हुन थालेपछि इलामका विभिन्न क्षेत्रका कृषकहरु दूध उत्पादन तर्फ आकर्षित हुन थालेका छन् । यसले इलाममा दूधको उत्पादन समेत बढाउँदै लगेको छ । जिल्लामा वार्षिक १ लाख ५० मेटिक टन दूध उत्पादन भइरहेको जिल्ला पशु सेवा कार्यालय इलामले जनाएको छ । इलाममा ५५ हजारभन्दा बढी परिवार प्रत्यक्षरुपमा पशुपालन व्यवसायमा संलग्न रहेको छन । पाँच ‘अ’ ले परिचित इलामलाई त्यहि ओलन (दुध) बाटै उत्पत्ति भएको ललिपप र चिज लगायत सबै दूधबाट यस्ता मिठाई बनाउने हो भने रोजगारी खोज्न शहर पस्नु नपर्ने उद्यमीहरु बताउँछन ।

जिल्लाका अधिकाँश कृषकहरुले व्यावसायिक रुपमा गाई–भैँसी पालेर प्रतिघर ४ देखि ४० लिटरसम्म दुध उत्पादन गर्दै आएका छन् । यो दुध सरदर ४० रुपैयाँ प्रतिलिटरका दरले स्थानीयस्तरमै सञ्चालित ललिपप र चिज उद्योगले खपत गर्ने गरेका छन् भने केही बाहिर निकासी हुन्छ । जिल्लामा चलेका २० भन्दाबढी चिज कारखाना र दुई दर्जनको हाराहारीमा ललिपप उद्योगले उत्पादन गर्ने मिठाईको माग स्थानीय बजारका साथै काठमाण्डौ र भारत लगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउँछन ।

जिल्लाकोे साखेजुङ, फिक्कल, नयाँबजार, कुटिडाँडा, पशुपतिनगरलगायतका स्थानमा दर्जनांै यस्ता उद्योेगमा सञ्चालित छन् । जिल्ला पशु सेवा कार्यालयको तथ्याङकमा जिल्लामा दुग्द्यजन्य पर्दाथ उत्पादन गर्ने ५ सय भन्दा बढी  डेरी संचालनमा रहेको देखिन्छ । नेपालमा रोजगारीको अवसर नरहेको भन्दै दैनिक हजारौको संख्यामा विदेशिने गरेका युवाले ललिपप निर्माण सम्बन्धि तालिम लिई यतै काम गर्ने हो भने मासिक १०–२० हजारका रुपैया आम्दानी गर्न सकिने घरेलु तथा साना उद्योग विकास समितीका नायब सुब्बा खडग बस्नेत बताउँछन । घरेलु तथा साना उद्योग विकास समितीले रोजगारीको अवसर सृजना गर्न विभिन्न समयमा तालिम र अनुदानमा आवश्यक मेसिन तथा उपकरण प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार