काठमाडौँ । माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको सांसद् हितबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेका थिए। एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी प्रचण्डले बैठकमा राखेका थिए।
माओवादीले पार्टी एकता, सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने माग गर्दै आएको छ। भागबन्डा नमिलेका कारण प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको माओवादी केन्द्रबाट सरकारमा सहभागी भएको छैन।