Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जनमुक्ति सेनाको कमाण्डरदेखि मन्त्रीसम्म ‘माैसम’ काे राजनितिक यात्रा

जनमुक्ति सेनाको कमाण्डरदेखि मन्त्रीसम्म ‘माैसम’ काे राजनितिक यात्रा

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ५ २०७४


जनमुक्ति सेनाको कमाण्डरदेखि मन्त्रीसम्म ‘माैसम’ काे राजनितिक यात्रा

पाँचथर – पाँचथरको क्षेत्र न २ बाट प्रदेश सभामा निर्वाचित इन्द्र आङ्बो ‘मौसम’ले प्रदेश न १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी बहन गरेका छन्। उनी नेकपा (माओवादी) केन्द्रको नेतृत्व गर्दै प्रदेश सरकारमा पुगेका हुन्।

आङ्बो ३५ बर्षकै उमेरमा पार्टीको नेतृत्व गर्दै सरकारमा पुगेका छन्। आफ्ना लागि यो ‘मौका’ भएको उनले बताए। प्रदेशको समृद्धिका लागि योजनाहरू सहित आफू मन्त्री बनेको आङ्बोले बताए। कृषिको आधुनिकरण, जलस्रोत तथा उर्जाको विकास, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधारको विकासलाई मुख्य प्राथमिकतामा राखेर प्रदेश १ को समृद्धिमा जुट्ने उनले बताएका छन्।

जनमुक्ति सेनाको कमाण्डर हुँदै आङ्बो प्रदेश न १ को आर्थिक तथा योजना मन्त्री बन्न सफल भएका छन्। तत्कालिन जनमुक्ति सेनाको बिग्रेट कमाण्डर, पार्टीको पोलिटब्युरो सदस्य हुँदै उनी वर्तमान अवस्थासम्म आइपुगेका छन्। ‘जनताको सेवाका लागि राजनीतिमा लागेको थिए’ उनले भने, इमान्दारीतापूर्वक काम गरेकाले सांसद् हुँदै मन्त्री हुने मौका पाए।’ प्रदेशको विकास र जनताको हितका सदा लागि पर्ने उनले बताए।

राजनीतिमा दु्रत गतिमा सफल हुने व्यक्तिको रूपमा उनलाई चिनिन्छ। कतिपयले उनलाई भाग्यमानी मान्छन् भने कतिपयले डाईनामिक मान्छन्। राजनीतिक छलाङ मारेको टिप्पणी गर्नेहरू पनि छन्। तर राजनीतिमा भिजनसहित लागेका नेताको परिचयले उनलाई सफल बनाएको देखिन्छ।

फिदिम नगरपालिकाको नागिनमा जन्मेका आङ्बो भूमिगतकालदेखि नै पार्टीमा सक्रिए थिए। २०५६ सालमा अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध रहेर काम गरेका आङ्बो २०५७ सालमा विद्यार्थीको जिल्ला सचिव भएका थिए। २०५९ सालमा पार्टीको जिल्ला सचिव पनि भए। त्यतिबेला सचिव जिल्लाको प्रमुख हुने प्रणाली थियो।

आङ्बो २०६० सालमा जनमुक्ति सेनाको वटालियन कमाण्डर बनेका थिए। उनी ०६२/०६३ सालमा बिग्रेट कमाण्डार भए। २०६२ सालमा वाईसिएलको संस्थापक केन्द्रीय सचिवालय सदस्य भए। २०६५ सलामा पार्टीको लिम्बुवान राज्य समितिको सह सचिव भएका थिए। २०६७ सालमा पार्टीको केन्द्रीय सदस्य भए।

सरकार उनका लागि नयाँ अनुभव हो। पहिलो पल्ट टिकट पाएका उनी कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै विजयी भएका थिए। अबको यात्रा आफ्नो कठिनपूर्ण भए पनि प्रदेशको समृद्धिमा सधै लागि पर्ने उनको भनाई छ। (नागरिक न्युजबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार