इलाम । इलामको सूर्योदय नगरपालिका ६ स्थित तारगाउँमा आधुनिक कृषि औजार निर्माण सम्बन्धि तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजना र सूर्योदय नगरपालिकाको समन्वयनमा १५ दिने आधुनिक औजार बनाउने तालिम सम्पन्न भएको हो ।
भगत सर्वजीत कार्यक्रम अन्तरगत दलित समुदाय लक्षित कार्यक्रमबाट कृषि औजार बनाउने तालिम प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रमा परम्परागत रुपमा कृषि औजार बनाउँदै आएका दलित समुदायलाई आधुनिक प्रविधिबाट मेसिन औजार बनाउन र उद्योग स्थापना गरि रोजगारीको व्यवस्थापनका लागि तालिम आयोजना गरिएको थियो । माघ १९ गतेबाट शुरु भएको तालिममा सूर्योदय नगरपालिका वडा नम्बर ६ को तारगाउँमा बसोबास गर्ने १२ जना दलित समुदायलाई तालिम प्रदान गरिएको हो ।

आधुनिक कृषि औजार तालिमको समापनमा बोल्दै वडा नम्बर ६ का वडाध्यक्ष सिवकुमार बस्नेतले १५ दिनसम्म लिएको सीपलाई सदुपयोग गर्दै उद्योग दर्ता गरि संचालन गर्नुपर्नेमा जोड दिएका थिए । तालिममा सहभागिलाई वडाध्यक्ष सिवकुमार बस्नेत, घरेलु तथा साना उद्योग विकास समितिका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमाण पत्र प्रदान गर्दै घरेलु तथा साना उद्योग विकास समितिका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले सरकारले दलित समुदायलाई सीप प्रदान गरि स्वरोजगार बनाउन संचालन गरेको भगत सर्वजित कार्यक्रम आगामि दिनमा ग्रामीण क्षेत्रमा संचालन गर्ने बताए ।
समापनमा कार्यक्रममो पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना र पत्रकार ज्ञानु भट्टराईले तालिममा लिएका सीप व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीय समाजसेवी चुडामणि चापागाईको अध्यक्षतामा भएको तालिम समापनमा जगत रसाइली, होम बहादुर रसाइली, खड्ग रसाइली र चित्र रसाइलीले आफ्नो समुदाय लक्षित कार्यक्रमबाट घरगाउँमै आएर सीप प्रदान गरिएकाले तालिमको सीम उपभोग गर्ने प्रतिवद्धता जनाएका थिए ।