ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दा हालसम्म एक तिहाइ योजनाको मात्र सम्झौता गरेको । फुङ्लिङ नगरपालिकाको कुल बजेटअन्तर्गत चालू (प्रशासनिक) तर्फको करिव ७० प्रतिशत खर्च भइसक्दा पुँजीगत वा विकास बजेट खर्च हुने योजनाहरु हालसम्म एक तिहाइको मात्र सम्झौता भएको हो ।
यो अवस्था जिल्लाका सबै स्थानीय तहमा देखिएको छ । यस आवका लागि फुङ्लिङ नगरपालिकामा कुल तीन सय ५४ वटा योजना रहेकोमा हालसम्म एक सय १८ योजनाको मात्र सम्झौता भएको छ । नगरपालिकाका योजना शाखा प्रमुख गणेश अधिकारीका अनुसार धेरै न्यून मात्र योजना सम्झौता भएको छ । बढी योजनाहरु प्रस्तावसहित पेश गर्ने प्रकृतिका रहेकाले वडा तहबाट त्यसको प्रस्ताव तयार हुँदै आएको र अन्यमा उपभोक्ता समिति गठन र सम्झौताको चरणमा रहेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
शाखा प्रमुख अधिकारीले भन्नुभयो, “सम्झौताका लागि समय तोकेका छैनौं, तर अब चाँडै सम्झौता हुन नसकेको खण्डमा योजना पूरा हुनका लागि समय अभाव रहन सक्छ ।” स्थानीय तहले बनाएको योजना पूरा गर्ने चरणलाई नियाल्ने हो भने अहिलेको अवधि भनेको कार्य प्रगतिको अवधि हो । तर, जिल्लाका अधिकांस स्थानीय तहमा रहेका योजना पूरा गर्न सम्झौता नै हुन सकेको छैन ।
जिल्ला समन्वय अधिकारी नरहरि भण्डारी अबको पूरै अवधिलाई विकासको चरणमा लगेर कार्य नगर्ने हो भने स्थानीय तहका योजना पूरा हुन असम्भव रहने बताउनुहुन्छ । भण्डारीले सम्झौताका लागि निश्चित समय दिएर उपभोक्तालाई सम्झौता र कार्य प्रगतितर्फ केन्द्रित गर्न जनप्रतिनिधिले अगुवाई गर्नुपर्ने बताउनुभयो । वडा तहसम्म निर्वाचित जनप्रतिनिधि भएकोले उपभोक्तालाई योजना पूरा गर्ने अभियानका रुपमा आर्कषित गर्ने कार्यको अगुवाई जनप्रतिनिधिले गर्न सक्ने उहाँको ठम्याई छ ।
तत्कालिन जिल्ला विकास समितिमा झण्डै साढे तीन दशक बढी समय बिताएर सेवा निबृत भएका दुर्गाप्रसाद श्रेष्ठ माघ÷फागुन सम्ममा पनि योजनाको सम्झौता हुन नसक्नुलाई योजना पूरा गर्ने चरणका लागि दूर्भाग्यपूर्ण भएको बताउनुहुन्छ । श्रेष्ठले योजनाका लागि यो अवधि कार्य प्रगतिको अवधि भएको भन्दै सम्झौताको चरणलाई फागुन दोस्रो साता भन्दा उता कटाउन दिन नहुने सुझाउनुभएको छ ।
योजनाका लागि भदौ असोज सम्मको अवधि योजनाको तयारी र उपभोक्ता समिति गठन, कात्तिक–पुस योजनाको सम्झौता र पहिलो किस्ता भुक्तानी, माघ बैशाख योजना कार्य जेठ अनुगमन र असार पहिलो साता फोरफारक तथा योजनाको अन्तिम भुक्तानीको चरण भएको उहाँले बताउनुभयो ।
श्रेष्ठले कार्य प्रगति सकिने बित्तिकै अनुगमन तथा योजना फोरफारकको काम सकेमा जेठ अन्तिम साताभित्रै अन्तिम किस्ता भुक्तानी प्रक्रिया पूरा हुने जानकारी दिनुभयो । अबको बाँकी अवधिलाई पूर्ण रुपमा सदुपयोग गरेर योजना पूरा गर्ने अभियानमा उपभोक्ता समिति, निर्वाचित प्रतिनिधि र स्थानीय तहका कर्मचारी केन्द्रित नहुने हो भने स्थानीय तहका पुगेका योजना फ्रिज हुने जोखिम बढी रहने उहाँले तर्क गर्नुभयो । ‘निर्वाचित जनप्रतिनिधिको सञ्जाल सक्रिय भएर लागेमा अब पनि समय ढिला भएको हुने छैन’ श्रेष्ठले भन्नुभयो । कुल ६१ वटा वडा रहेको ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका गरी कुल नौ स्थानीय रहेका छन् ।