इलाम । घरेलु तथा सना उद्योग विकास समिति इलामले उद्योगमा आधुनिक प्रविधि जडान गर्नका लागि ४९ उद्यमीलाई प्रविधि हस्तान्तरण कार्यक्रमबाट सहयोग गरेको छ । चालु आर्थिक वर्ष ०७४÷०७५को उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट इलाम जिल्लामा रहेका लघु तथा घरेलु उद्योगीलाई उक्त सहयोग गरेको हो । ४५ जना उद्यमीलाई प्रविधि हस्तान्तरण कार्यक्रमबाट उद्योग स्तरउन्नतीका लागि प्रविधि उपलब्ध गराउनुपर्नेमा उद्योग विकास समितिका ४९ जना उद्यमीलाई छनौट गरेको हो ।
उद्योग विकास समितिले छनौट गरेका उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरि उद्योगका लागि आवश्यक मेसीन औजार खरिद गर्नुपर्ने प्रमुख उद्योग अधिकृत नविन पौडेलले बताए । २४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ बजेटबाट ४९ जना उद्यमीलाई एक उद्यमीलाई ३५ हजारदेखि ७० हजारसम्म प्रविधि हस्तान्तरणका लागि सहयोग गरिएको उद्योग विकास समितिले जनाएको हो ।
ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरि रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहन स्वरुप घरेलु तथा सना उद्योग विकास समितिले प्रविधि हस्तास्तरण गरेको समितिका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताए ।
दुग्ध परिकार, अदुवा प्रशोधन, बेकरी, कृषि फर्म, चिया उद्योग, ढाका उद्योगलाई ८० प्रतिशत अनुदानमा उद्योगमा आवश्यक मेसिन औजर प्रदान गरिएको हो । उद्योग मन्त्रालयको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अन्तरगत प्रदान गरिएको कार्यक्रममा धेरैजसो चिया उद्यमी छनौट भएका छन् । इलाममा ३१ सय घरेलु तथा साना उद्योगहरु दर्ता भई संचालनमा रहेको छन् ।