Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइ खोलाको बगरमा बित्यो दोर्जेको जिवन

माइ खोलाको बगरमा बित्यो दोर्जेको जिवन

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २५ २०७४


माइ खोलाको बगरमा बित्यो दोर्जेको जिवन

इलाम : तस्विरमा देखिएका ब्यक्ति हुन् दोर्जे तामाङ । ४० वर्ष यता उनको जिवन छेवैमा वगेको माइखोला कै किनारामा बालुवा खेलाउँदै बित्यो । माइखोलाको पानी जसरी उनको उमेर पनि संगसंगै बगिरहेको छ ।

२०३४ सालमा धनकुटाबाट इलाम आएका उनी पछिल्लो २० वर्ष यता धनकुटा गएकै छैनन् । आराम गरेरै विताउने समयमा पनि दोर्जे दैनिक गिट्टी र बालुवा खेलाउन मै वित्छ ।

मेची राजमार्ग छेवैमा माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा मुस्किलले एक ट्रयाक्टर बनाउँदा १२ सय रुपैयामा विक्छ । एक ट्रयाक्टर बालुवा भेला पार्न उनलाई झन्डै २० दिन जति लाग्छ । त्यहि १२ सय कमाउन दिनभरीको श्रम बेच्ने उनलाई काम गर्र्दा गर्दै दिन र रात पनि थाहा हुँदैन ।

बर्खामा भेल र वाढीले उनको यहि पेशा पनि धरापमा पर्छ । बर्खामा खाएको पनि हिउँदकै कमाइले धान्नु पर्ने उनको भनाई छ ।

बिहे गरेपनि जायजन्म नभई श्रीमतीको मृत्यू भए पछि कान्छी भित्रियाउने आँट गरेनन् दोर्जेले । मरे पछाडी गरिने मृत्यू संस्कारको त कुरै छाडौँ जिवितै रहँदा सामान्य विरामी हुँदा समेत तातो पानी तताएर दिने सहारा सम्म छैन उनको । पाको शरिर, चाउरी पर्दै गएको छाला, तागत सकिँदै गएर होला काम गर्दै गर्दा पनि हात गोडा थर्थर कामीरहेका हुन्छन् ।

सरकारले ७० वर्ष उमेर पार गरेका मानिसलाई बृद्धभत्ता उपलब्ध गराउने गरेको छ । तर उनी ७७ बर्ष पुग्दासम्म बृद्धभत्ता त के आफन्तको ठेगाना नभएपछि नेपालको नागरिकता सम्म पाएका छैनन् ।

पु¥ख्यौली घर धनकुटा भएका उनी धनकुटामा रहेका पुर्खाहरु पनि कहाँ छन् आफुलाई जानकारी नभएको वताउँछन । जिल्ला प्रशासन कार्यालय इलाममा नागरिकता बनाउन जाँदा धनकुटा नै गरेर बनाउनु भन्ने जवाफ आए पछि आफन्तको ठेगाना पनि नभएकाले नागरिकता नै बनाउन नसकेको गुनासो राखे ।

खोलाकै छेउमा परालले बारेको अनी कर्कटपाता बाँधेर छानो अड्याएको छाप्रो हालेर बसेका उनको चिसो रात खोलाको स्याठसंगै वित्ने गरेको छ ।

माघको जाडोमा पनि ढोका नै नभएको छाप्रोमा जिविको पार्जन गरिरहेका उनी पकाएर खाने सन्तुलित भोजनको त कुरै छाडौँ आज पेट भरी खाए भरेको छाक कसरी खाने भन्ने चिन्ता हुन्छ ।

छाप्रोकै छेउमा पकाएर खाने गोठ (किचन) छ उनको । त्यो पनि सामान्य हावाहुरी आए उडाएरै लैजान्छ । भत्किएको किचन पनि काठ र बाँसको टेको दिएर अडिएको छ ।

निजामती कर्मचारी वा शिक्षकको जागिर भइ दिएको भए उमेरको हदबन्दी लाग्ने उमेर पार गरिसके दोर्जेले । तर सरकारले उपलब्ध गराउने बृद्धभत्ता नै पाएका छैनन् । जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको वताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन ।

दोर्जेको छाप्रोबाट २ सय मिटर नजिकै माइभगवती बृद्धाश्रम छ तर उनी अहिलेसम्म बृद्धाश्रम गएका पनि छैन र कसैले लग्ने प्रयास समेत गरेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार