Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुकिलुम्बा विमानस्थल  आगामी चैतसम्ममा प्राविधिक परीक्षण

सुकिलुम्बा विमानस्थल  आगामी चैतसम्ममा प्राविधिक परीक्षण

  • सन्देश सम्बाददाता
  • बुधबार, माघ २४ २०७४


सुकिलुम्बा विमानस्थल  आगामी चैतसम्ममा प्राविधिक परीक्षण

इलाम । आगामी चैतसम्ममा इलामको सुकिलुम्बा विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले योजना बनाएको छ । गत वैशाखमा निर्माण शुरू भएको यो विमानस्थलमा जहाज अवतरण गरी धावनमार्गको प्राविधिक परीक्षण गर्ने निधोमा प्राधिकरण पुगेको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा सबग्रेड कार्य भइरहेको र लेभल परीक्षण गरेपछि चैत महीनासम्ममा परीक्षण उडान गरिने जानकारी दिए ।

विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भइरहेको धावनमार्गमा उडान परीक्षण गरिने भएको हो । धावन मार्ग सम्याउने काम ९४ प्रतिशत सकिएको न्यौपानेले बताए । ७ सय मिटर लम्बाइ र अधिकतम ६० मीटर चौडाइको धावन मार्ग यो वर्ष रू. १ करोडमा ठेक्का लागेको थियो । माइखोलासम्म नै ढल व्यवस्थापन कार्य रू. ८ करोडमा भइरहेको छ । माइखोलादेखि पहिरोको जोखीम कम गर्न आठओटा क्यास्केड र व्यवस्थित नाली निर्माण भइरहेको छ । नाली बनाउन ठेक्काको म्याद साउनसम्म भए पनि जोखीम रहेको स्थानमा जेठ महीनासम्ममा काम अगाडि बढाइने बताइएको छ । ठेकेदार कम्पनीका सुभास चिपालुले ४० प्रतिशत काम सम्पन्न भएको र कामलाई तीव्रता दिन अढाई सय कामदार लगाइएको जानकारी दिए । दिवा निर्माण सेवा प्रालिले लिएको ठेक्कामा शङ्कर त्रिशक्ति निर्माण सेवा सब–कण्ट्र्याक्टरको रूपमा कार्यरत छ ।

यसअघि शुरूमा ७ करोड लागतमा धावन मार्ग विस्तार कार्य सम्पन्न भएको थियो । साथै, ढल व्यवस्थापन र एक्सेस रोडको काम भएको थियो । यो वर्ष परीक्षण उडानपश्चात् रनवे र टर्मिनल भवन निर्माण थालिने इञ्जिनीयर न्यौपानेले जानकारी दिए । टर्मिनल भवनका लागि डिजाइन शुरू गरिएको र यो वर्ष नै ठेक्का लाग्न सक्ने उनले बताए । उनका अनुसार धावनमार्ग कालोपत्रको प्रक्रिया छिट्टै अगाडि बढाइनेछ । विमानस्थल केही भिरालो भएकोले वर्षा हुनासाथ ग्राभेलमा समस्या हुन्छ । त्यसैले, समयमै कालोपत्र नै गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ । ३ सय २५ रोपनी क्षेत्रमा फैलिएको विमानस्थल निर्माणका लागि केही समयअघि स्थानीय निकाय र समाजसेवीको पहलमा जग्गा अधिग्रहण कार्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार