इलाम । स्थानिय मिडियामा पत्रकार आचारसंहिता बिषयक मिडिया सम्वाद कार्यक्रम इलामको सुर्योदय नगरपालिकामा सम्पन्न भएको छ । प्रेस काउन्सिल मिडिया सम्वाद तथा बहस उपसमितीको आयोजना र सुर्योदय संचार मञ्चको संयोजनमा सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
सम्बाद कार्यक्रममा बोल्दै प्रेस काउन्सिल मिडिया सम्वाद तथा बहस उपसमितीका संयोजक खिलाबहादुर भण्डारीले पत्रकारहरुले आचार संहित पालना गर्दै खोजमुलक समाचारहरुलाई प्राथमिकता दिन सके पत्रकारिता क्षेत्रमा भविष्य उज्वल रहेको बताए । उनले पत्रकारले आचार संहित उल्लंघ गरे नगरेको अनुगमन प्रेस काउन्सिलले गर्ने भएकाले सवै पत्रकारहरुले आफनो मर्यादा र धर्मलाई परिपालन गर्नुपर्नेमा जोड दिए ।

पत्रकार सामाजिक व्यक्तित्व भएकाले उस्ले आफ्नो व्यक्तिगत राजनितिक आस्थाबाट माथी उठेर सामाजिक हितमा आफनो कलम चलाउन सूर्योदय नगर क्षेत्रमा रहेका मिडिया संचालक र पत्रकारलाई आग्रह गरे । उनले प्रेस काउन्सिलमा पत्रकार आचार संहितको अनुगमन मात्र नभइ स्थानिय स्तरका संचारमाध्यम र संचारकर्मीहरुको उत्थानका लागी पत्रकारिताको लागी आवश्यक सामाग्रीमा अनुदान समेत दिने व्यवस्था रहेको बताए ।
कार्यक्रममा बोल्दै बहस उपसमितीका सदस्य इश्वरीप्रसाद आझाले पत्रकारहरुलाई नियममा बाध्न पत्रकार महासंघ र प्रेस काउन्सिलले संयुक्त रुपमा पत्रकार आचार संहित जारी गरेकाले सवैले आचार संहित भित्र बाधिएर संमाचार सम्प्रेसण तथा प्रकाशन गर्नुपर्ने बताए । उनले नागरिकहरुलाई नियमन गर्न देशको कानुन भए जस्तै पत्रकारहरुको लागी आचार संहित जारी गरिएकाले आचार संहिताको उल्लंघन भएका पत्रकारहरुलको प्रेस पास जफत सम्म गर्न सकिने भएकाले पत्रकारिताको मर्यादालाई कायम गर्नुपर्नेमा उनको जोड थियो ।

प्रेस काउन्सिलका सुचना अधिकारी दिपक खनालले प्रेस काउन्सिलले समय समयमा मिडियाहरुलाई अनुगमन गरिरहने भएकाले पत्रकारहरुको कानुनलाई ध्यानमा राखेर समाचार लेख्नमा लाग्न सुझाव दिए । प्रेश काउन्सिलले संचार संस्थाको दर्ता र वर्गिकरण गर्ने भएकाले स्थानीय क्षेत्रमा खुलेका अनलाइनहरु पनि दर्ता गर्नुपर्ने बताए । सम्बाद कार्यक्रममा बोल्दै रेडियो फिक्कलका सम्पादक राजकुमार दाहालले मोफसलमा बसेर पत्रकारिता गर्न समस्या रहेकाले पत्रकारहरुलाई जिवन निर्वाहमुखी बनाउन प्रेस काउन्सिलले समेत पहल गनुपर्नेमा जोड दिएका थिए । संचारमाध्यमले आचारसंहिता पालना गरेको नगरेको अध्ययनसँगै त्यहाँ काम गर्ने पत्रकारको श्रमको बिषयमा प्रेश काउन्सिलले ध्याउ केन्द्रित गर्न दाहालले आग्रह गरे ।

प्रेस सेन्टर नेपाल प्रदेश नं १ अनुशासन समितीका अध्यक्ष लक्ष्मी मिश्रले मुलुक संघियतामा गइसकेकाले प्रेस काउन्सिल एकात्मक नभइ तल्लो तहमा समेत विस्तार गर्दै नजिकैबाट मिडिया र संचारकर्मी अनुगमनमा जोड दिनु पर्ने बताए । संघीयता कार्यान्वयन भइसकेकाले अब प्रेश काउन्सिलले पनि आफ्ना संरचना प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने मिश्रको भनाइ थियो । रेडियो बुद्धवाणीका प्रवन्ध निर्देशक दिनेश महतले पुर्वी पहाडी क्षेत्रका आचार संहिता उल्लंघनका घटनाहरु कमै भएपनि नयाँ आउने संचारकर्मीहरुले आचार संहिता र पत्रकारिता धर्म पालना गर्न विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रेस सेन्टरका प्रदेश नं १ का सचिव एवम् सन्देश प्रकासन समूहका प्रधानसम्पादक सुजन तिम्सिनाले पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै भएपनि मेहनत र परिश्रम गर्दै जाँदा अवसर धेरै रहेको बताए । राजनीतिक दलप्रति बहने भन्दापनि पत्रकारितालाई व्यवसायिकता बनाउने हो जिवन चलाउन समस्या नहुने उनले बताए । समाचार बनाउँदा विज्ञको कुरा राख्न गुगलमा हेर्न सकिने भएकाले पत्रकारीता गर्न प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो ।

फिक्कल प्रहरी चौकी इन्र्चाज मोहन रायमाझीले सवै क्षेत्रका आफना आफना आचार संहिता रहेकाले पत्रकारहरुले पनि आफनो आचार संहिता पालना गर्दै समाज रुपान्तरणमा भुमिका खेल्न आग्रह गरे । सुर्योदय संचारमञ्चका अध्यक्ष जीवन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सुर्योदय नगरपालिका क्षेत्रमा कार्यरत २५ भन्दा बढी संचारकर्मी र संचार उद्यमीको सहभागीता रहेको थियो ।