इलाम । माघ २३ गतेबाट संचालन हुने पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौ संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । किरात धर्मगुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सवको अवसरमाकिरात साम्यो हक्चात यक्चुम २०६८ सालबाट माङसेवुङ गाँउपालिका–५ मा आयोजना गर्दै आएको प्रतियोगिताको महिला फुटबल तर्फको टाइसिट बुधवार प्रकाशन गरिएको हो ।
पुर्वाञ्चलका इलामका २, झापाका ३, ताप्लेजुङ, माेरङ र सुनसरीका १/१ गरी कुल ८ महिला फुटबल क्लब सहभागी प्रतियाेगिताकाे उद्धघाटन खेलमा माघ २४ गते लेटाङ फुटबल क्लव लेटाङ माेरङले सताक्षीधाम स्पाेटिङ क्लब झिलझिले झापाको सामना गर्दैछ । फूटबलको विजेता टिमले नगद ६२ हजार १६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार १ सय ६२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै गरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्ड र उत्कृष्ट गोलकिपरलाई जनही ३ हजार १६२ रुपैया प्रदान गरिनेछ । फागुन २ गते सम्पन्न हुने खेलकुद प्रतियोगितामा महिला फूटबलका अतिरिक्त म्याराथुन दौड, म्युजिकल चियर, लठ्ठा तान्ने, हाडी फोडने लगायतका खेलहरु पनि हुने आयोजक समितीले जनाएको छ ।
किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा अवस्थित माङ्सेबुङमा सरकारी लगानी विनानै वर्षेनी ठूल्ठूला कार्यक्रमहरु सञ्चालन गरिदैं आएको छ । २०६७ मा झापाको दमकमा आयोजना गरिएको प्रतियोगिता २०६८ सालदेखि निरन्तर लारुम्वामा नै आयोजना गरिदै आएको आयोजक समितीले जानकारी दिएको छ ।
गोल्डकप प्रतियोगिता यसवर्ष पनि दाताहरुबाट प्राप्त सहयोग रकमबाट सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैया लाग्ने अायाेजक समितीकाे अनुमान छ ।