काठमाण्डाै । क्यान्सर अध्ययन गर्ने एउटा संस्थाको १० वर्षको अध्ययनअनुसार नेपालमा क्यान्सर उपचारका लागि आउने बिरामीमध्ये एक तिहाइभन्दा बढी अर्थात् ३७ प्रतिशत किसान छन् । अंग्रेजी दैनिक रिपब्लिकाले प्रकाशित गरेको मुख्य समाचार अनुसार क्यान्सर गणना आयोजनाले सन् २००३ देखि सन् २०१२ सम्म गरेको एउटा अध्ययनमा यस्तो परिणाम देखिएको हो ।
खेती किसानीमा लाग्ने व्यक्तिलाई धेरै क्यान्सर लाग्छ नै भनेर यस अध्ययनले प्रमाणित गरेको नभए पनि क्यान्सरको उपचारका लागि आएका बिरामीमध्ये धेरैले आफ्नो पेसामा किसान लेखेका कारण कतै खेतीमा प्रयोग गरिने विषादीको कारणले यस्तो समस्या देखिएको त हैन भन्ने सन्देह उत्पन्न हुन्छ । यसैले यस विषयमा थप अध्ययन गर्नुपर्ने देखिन्छ ।
चितवनको बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, काठमाडौंका वीर अस्पताल र कान्ति बाल अस्पताल एवं पोखराको मनिपाल शिक्षण अस्पतालमा आएका बिरामीको पेसाको बारेमा खोजिएको तथ्यांकले यस्तो स्थिति देखाएको हो । अध्ययन गरिएको दस वर्षको अवधिमा यी अस्पतालमा कुल ५६ हजार १३ जना क्यान्सरका बिरामी भर्ना भएका थिए जसमध्ये २० हजार ९५३ ले आफ्नो पेसा कृषि रहेको बताएका थिए ।
किसानपछि घरेलु कामदार क्यान्सर हुनेमा सबैभन्दा धेरै देखिएका छन् । यिनको संख्या १६ हजार ३७ देखिएको छ जुन कुल संख्याको २८ दशमलव ६ प्रतिशत हो । यस अध्ययनअनुसार क्यान्सरका आउने बिरामीमा महिलाको तुलनामा पुरुषको संख्या धेरै देखिएको छ । कुल संख्याको ५७ प्रतिशत पुरुष बिरामी देखिएका छन् भने महिलाको संख्या ४३ प्रतिशत देखिएको छ ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रोफेसर मिनराज पोखरेलले सन् २०१४ मा गरेको एक अध्ययनअनुसार धेरै किसानले अन्न बाली र तरकारीमा चाहिनेभन्दा बढी मात्रामा विषादीको प्रयोग गर्नेगरेका र तीमध्ये धेरै ९७७ प्रतिशत० ले यसबाट हानि हुन्छ भन्ने थाहा भएरै पनि सो कार्य गरिरहेका थिए । त्यतिमात्र होइन विषादी छरेको केही समयसम्म तरकारी वा बाली टिप्नु र बजारमा पठाउनु हुँदैन भन्ने जानकारी हुँदाहुँदैपनि यिनले त्यसलाई समेत बेवास्ता गरेको अध्ययनमा देखिएको थियो । ( अनलाइनबाट साभार)