ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा बुधबार हिमपात भएको छ । हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । बुधबार साँझ फाटफुट वर्षा भएसँगै हिमाली क्षेत्रमा हिमपात भएको हो ।
यता हिमाली क्षेत्रमा भएको हिमपातका कारण जिल्लामा निक्कै चिसो बढेको स्थानीयले बताएका छन् । हिउँ पर्ने क्रम जारी रहेको पनि स्थानीयले बताएका छन् । हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन निक्कै प्रभावित बनेको छ । यी क्षेत्रका बस्ती नजिकका डाँडाहरुमा हिउँ परेपछि निक्कै चिसो बढेको स्थानीयले बताएका छन् । चिसोले सबैभन्दा बढी असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा परेको स्थानीयको भनाइ छ ।
यता तीन हजार ७९४ मिटरको उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा समेत हिउँ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पाथीभरामा बिहानै देखि हिउँ पर्न थालेको खबर आएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
यसवर्ष लामो समय पछि हिउँ परेको हो । स्थानीयका अनुसार विगतका वर्षमा असोज कात्तिकबाटै हिउँ पर्ने गरेकामा माघ महिनाको दोस्रो साता बित्न लाग्दा समेत हिउँ परेको थिएन । यसरी जिल्लाको उच्च क्षेत्रहरुमा हिमपात भएकाले सदरमुकाम फुङ्लिङबजार, सुकेटारबजारमा समेत निक्कै चिसो बढेको छ ।