बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले भोलि माघ ७ गते बिर्तामोडको आदर्श ब्याङ्क्वेटमा झापा स्पोट्र्स अवार्ड २०७३ प्रदान गर्ने कार्यक्रमको तयारी पूरा गरेको जनाएको छ । मञ्चले मनोनयनमा परेका १२ जना खेलाडी र तीनवटा क्लबमध्येबाट एक–एकलाई अवार्ड प्रदान गरिने जनाएको हो ।
मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौलालाई मनोनयन गरेको छ । त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलाका लागि क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परेका छन् ।
यस्तै युवावर्ष खेलाडीका लागि फुटबलका देबेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको छ भने अर्को विधा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा फुटबलका संजय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेका छन् । यस्तै पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेको छ ।
चारवटा खेलका विधाबाट १–१ जना र एउटा टीम प्रत्येकले नगद १५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गर्ने कार्यक्रमलाई भब्य र सभ्य बनाउन सबै तयारी पूरा गरेको मञ्चले जनाएको हो । भोलि आइतबार साँझ ६ बजेदेखि कार्यक्रम शुरु गरिने तय भएको अध्यक्ष रमेश रमदर्शी राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।