काठमाडौं । प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टोस स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने ।यस्तोमा बिरामीको उपचार औषधिले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि ।
आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरुमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँहरुलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु ।’
उनले अगाडि भनेका छन्, ‘संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रुपमा एक भइसकेका छौं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौं । यदि स साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धि पनि गुम्ने खतरा हुन्छ ।’
यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग बिच्किएर कांग्रेसको लोकतान्त्रिक गठबन्धनतिर गएका डा।बाबुराम भट्टराई केही दिनयता एमाले माओवादीसँग बिग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा छन् । अर्थात्, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरु थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् ।
वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी हाँसी नै मिलाउँछन् भन्दैछन्, वाम अगुवाहरु । जनआस्थाबाट