फिक्कल । व्यवसायीक गाइफार्म तथा डेरी व्यवस्थापन सम्वन्धी ३ दिने तालिम इलामको सुर्योदय नगरपालिकामा सम्पन्न भएको छ । सुर्योदय– ८ स्थित मालुम आधारभुत विद्यालय आयोजित तालिममा सहभागी पशुपालक किसानलाई घाँस खेतीका बारेमा पनि जानकारी गराइएको थियो ।
कन्याम दुग्द्य चिस्यान तथा प्रशोधन केन्द्रको आयोजना र उन्नती परियोजनाको आर्थिक सहयोगमा भएको तालिममा १२५ जना किसानको सहभागीता रहेको थियो । तालिममा पशु फर्मको जैविक सुरक्षा, गोठको छनौट, पशुबाट मानिसमा सर्ने रोग तथा दुधको माध्यमबाट फैलने रोग, पशु फर्म अभिलेख र यसको महत्व, दुधको पौष्टिक महत्व बनावट र चारित्रीक गुण, सफा दुध उत्पादन र व्यवस्थापन पक्षहरु, पशुमा लाग्ने रोगहरु र त्यसको रोकथाम तथा नियन्त्रण, परिजिवीहरुको प्रभाव र नियन्त्रण सम्वन्धी शिक्षा दिइएको थियो ।
यसै गरी कृतिम गर्भधानका फाइदा र वेफाइदा, पशु पोषण तथा बाँझोपन निवारण, भरखरै जन्मिएका वाच्छा वाच्छी र विगौतीको महत्व, पशुमा लाग्ने थुनेलो रोगको नियन्त्रण बारे जानकारी गराइएको थियो ।
तालिमलाई पशु चिकित्सक कुमारसिंह खत्री र पशुपती ढुङगानाले सहजीकरण गरेका थिए । तालिम समापनको अवसरमा किसानलाई नेपियर, ३ प्रजातीका ६÷६ केजी घाँसको विउ वितरण गरिएको आयोजक समितीका प्रेमसागर भट्टराईले बताए ।